सर्लाही, २० साउन । धनुषा, महोत्तरी र सर्लाही जोड्ने सडक खण्ड महेन्द्र राजमार्ग विस्तारमा ढिलाइ भइरहेकोप्रति प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चासो व्यक्त गरेको छ ।
उक्त समितिका सभापति एवं सांसद आशिष गजुरेलले निर्माणाधीन राजमार्गको निरीक्षण गर्दै निर्धारित समयमै काम सक्न निर्देशन दिएका छन् ।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर राजमार्ग तीन वर्षभित्र एसियाली मापदण्ड अनुसार चार लेनको बनाउने गरी करार सम्झौता भएको छ ।
तर डेढ वर्ष बितिसक्दा भर्खर २६ प्रतिशत मात्र काम भएको छ । अहिलेसम्म ५० प्रतिशत काम भइसक्नुपर्नेमा अति नै सुस्त गतिमा काम भएको पाइएपछि पूर्वाधार विकास समितिका सभापति गजुरेलले चासो व्यक्त गरेका छन् ।
गजुरेलले महेन्द्र राजमार्ग विस्तारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेकाले कुनै बहानाबाजी नगरी निर्धारित समयमै काम सक्न निर्माण व्यवसायी, परामर्शदाता र राजमार्ग आयोजनालाई निर्देशन दिएको छ ।
पूर्वाधार विकास समितिका सभापति गजुरेलले समयमै काम नसक्दा आमनागरिकले यात्रा गर्दा दुःखकष्ट खेप्नुपर्ने विषयमा निर्माण व्यवसायीलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।
यस्ता परियोजनाको सफल निर्माण सम्पन्न गर्न नसके नागरिकमा पुरानै किसिमको नैराश्य आउन सक्नेतर्फ सरकार गम्भीर रहेको गजुरेलको भनाइ छ ।
कमला- ढल्केबर–पथलैया सडक आयोजना -पूर्वी खण्ड) का आयोजना प्रमुख (प्रोजेक्ट म्यानेजर) राजेशकुमार दासका अनुसार अब डेढ वर्षमा राजमार्ग विस्तारको बाँकी ७५ प्रतिशत काम सक्नुपर्ने बाध्यता छ ।
उनका अनुसार कमलादेखि बागमतीसम्मको ७४.७५ किलोमिटर सडकमध्ये बस्ती भएको र बजार एरियामा सर्भिस लेनसहित साढे ११ किलोमिटर सडकलाई छ लेनको र बाँकी ठाउँमा चार लेनमा विकास गरिने छ ।
७४.७५ किलोमिटर दुरीमा ५० वटा पुल, १०२ वटा कलभर्ट र पाँच वटा ओभरपास निर्माण गर्नुपर्ने सडक आयोजनाले जनाएको छ ।
६५ वटा कलभर्ट निर्माण सम्पन्न भइसकेका छन् भने २८ वटा पुलको सबस्ट्रक्चर निर्माणको काम सकिएका छन् । ५० प्रतिशत समय व्येतीत भइसक्दा पनि २६ प्रतिशत मात्र भौतिक प्रगति हुनुको कारण प्रतिनिधि सभाको चुनाव, मध्यपश्चिम देशमा जारी द्वन्द्वको प्रभाव, माटो उपलब्ध नहुनु, बिजुलीको पोल समयमै नसारिनु र साइड क्लियरमा ढिलाइ रहेको आयोजनाका प्रमुख दासको भनाइ छ ।
लामो प्रयासपछि राजमार्ग विस्तार गर्न रुख कटानको काम भए पनि झन्झटिलो प्रव्रिmयाका कारण डिभिजन वन कार्यालयलाई रुख बुझाउन नसक्दा समस्या परिरहेको उनले गुनासो गरे ।
अहिलेसम्म पनि पूर्ण रूपमा बिजुलीको पोल सार्ने काम नहुँदा आमजनतालाई हैराीन भइरहेको उनले समेत बताए । परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर विनोदकुमार गौतमले निर्माण सामग्रीको सहज उपलब्धता भए अझै पनि बाँकी डेढ वर्षभित्रैमा राजमार्ग विस्तारको सम्पूर्ण काम सक्ने अवस्था रहेको दाबी गरेका थिए ।
राजमार्ग विस्तारको काममा सहजीकरण गरिरहेको कन्सल्टेन्ट कम्पनीका इन्जिनियर गौतमले साइड क्लियर गर्ने काममा सहयोग गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।
रसुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरका प्रतिनिधि निरञ्जन पुडासैनीले आयोजनाको काम सुरु भएको डेढ वर्ष भए पनि रुख कटान सकिएको चार महिना मात्र भएको बताए ।
सडक आयोजनाको लट-२ मा २९ किलोमिटर सडकमध्ये २२ किलोमिटर त जंगल क्षेत्र पर्ने भएकाले रुख कटान नै भर्खरै भएकाले कामको प्रगति नदेखिएको पुडासैनीले दाबी गरे ।
कमला–ढल्केबर–पथलैया सडक आयोजना अन्तर्गत पश्चिम खण्डमा पर्ने बागमती पुलदेखि पथलैयासम्मको करिब ५५ किलोमिटर खण्डको अहिले पनि ठेक्का लाग्न बाँकी रहेको छ ।
