सर्लाही, २१ साउन । सुनसरी घटनामा निधन भएका रवीन्द्र मेहताका परिवारले शव बुझ्न तयार भएको भनी सरकारले झूट फैलाएको भन्दै आफन्तले आक्रोश पोखेका छन् ।
रवीन्द्रका दाजु रोशन मेहताले आफूहरूसँग कुनै त्यस्तो सहमति नभएको बताए ।
उनले भने, ‘गृहमन्त्री र सचिवालयले झूट कुरा गरिरहेको छ । उहाँहरूले हामीलाई केही पनि भनिरहनुभएको छैन । हाम्रो परिवार उता (कप्तानगञ्ज) बाट आइरहनुभएको छ । परिवार सबै बसेर छलफल गरेपछि मात्र के गर्ने भन्ने निर्णय गर्छौँ ।’
यसअघि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगञ्जमा सहमति भएको सचिवालयले जनाएको थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
