सर्लाही, २३ साउन । मधेस प्रदेशमा यस वर्ष धान रोपाइँको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर करिब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा धान रोपाइँ शतप्रतिशत सकिएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

बारामा भने लक्ष्यभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस वर्ष ४५ हजार १०० हेक्टरमा धान रोप्ने लक्ष्य राखिएकोमा ४६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, सप्तरीमा ९१ दशमलव २५ प्रतिशत र धनुषामा ९० प्रतिशत रोपाइँ सकिएको छ । धनुषामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती गर्ने लक्ष्य रहेकामा हालसम्म ३९ हजार ३३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

अन्य जिल्लातर्फ सर्लाहीमा ९९ प्रतिशत, रौतहटमा ९८ प्रतिशत, पर्सामा ९१ प्रतिशत र महोत्तरीमा ८१ दशमलव ६८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा यस वर्ष कुल ३ लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ । हालसम्म प्रदेशभर ३ लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *