सर्लाही, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकार परिवर्तन भए पनि मन्त्रालयको कार्यशैलीमा परिवर्तन नआउँदा धेरै समय खेर जाने गरेको गुनासो गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्न सांसदको गणपुरक संख्या नपुगेपछि सांसदहरूको आलोचना भइरहेका बेला सांसद तामाङले आफूहरूको समय जनताको कामका लागि मन्त्रालय धाउँदा धाउँदा खेर जाने गरेको गुनासो गरेको हुन् ।
‘हिजो सदनमा संसदहरूको संख्या पुगेन रे ? अब संसदहरू सबै मन्त्रालयको ढोकामा कतिखेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ अनि पुग्छ त संख्या ?’, तामाङले भनिन्, ‘सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारीले हो मन्त्रालयका सचिवहरूले अब हजुर तीन दिन सक्छौँ हामीले भनेको काम तीन महिना बितिसक्दा पनि दिनमा तीनपल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनुपर्छ ।’
उनले अगाडि लेखेकी छन्, ‘…जानैपर्यो मन्त्रीलाई वेटिङ रुममा एकछिन कुर्नैपर्यो । किनकि, मन्त्रीज्यू अर्को बैठकमा व्यस्त हुनुहुन्छ । अनि एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाँकी नै छ । पाँच बजिसक्यो झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनैपर्यो ।’
तामाङले विपक्षी सांसदहरूले एउटै विषयमा बारम्बार धेरै समय लिएर बोल्दा संसदका काम सक्न गाह्रो परेको समेत आरोप लगाएकी छन् ।
‘हाजिर गर्यो अनि टाप रे ? सदन भनेको सात घण्टासम्म ठीक हो । जे बोल्नुपर्ने ठोस–ठोस र तथ्यपरक कुरा उठाउने र कार्यान्वयन गर्न निर्देशिका दिने खाल को भए पो त, अब एउटा प्रतिपक्षले माइक हात पायो भने बोलेको बोल्यै हो सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा त मान्नु हुँदैन । नयाँ कुरा केही छैन खाली एउटा कुरा दोहोरियाको दोहोर्याई, अनि लेन्दी र बोरिङ हुँदैन त ?’
