सर्लाही, २७ साउन । सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर बुटवल धागो कारखानासमेत चलाउने तयारी गरेसँगै उद्योगीव्यवसायी उत्साही भएका छन् ।

तर उनीहरु यसअघिका सरकारलेजस्तै सस्तो प्रचारका लागि सुरुमा अनुगमर्न, अध्ययन र त्यसपछि वास्ता नगर्ने गरेका कारण अहिले नै यो सञ्चालन हुन्छ भन्ने विषयमा ढुक्क छैनन् ।

नेपाली धागोको प्रशस्त बजार रहेर राम्रै आम्दानी गरिरहेको उद्योग राजनीतिक खिँचातानीका कारण ६ सयलाई रोजगारी दिएर पनि बन्द भएको थियो ।

दुई दशकदेखि बन्द धागो कारखाना पुनः सञ्चालन गर्ने तयारीपछि उद्योगीव्यवसायी उत्साही मात्रै भएका छैनन्, यसको सञ्चालन मोडालिटिबारे सुझाएका छन् ।

सरकारले बुटवल धागो कारखाना सञ्चालनका लागि आन्तरिक तयारीका लागि प्रकृया अघि बढाएको छ । यसले पनि यो क्षेत्रका उद्योगीव्यवसायीलाई उत्साह थपिएको हो ।

त्यसो त उद्योगी व्यवसायीले बाँकेको कपास उद्योग–बुटवल धागो कारखाना–हेटौँडा कपडा उद्योगको ब्रान्ड बनाएर यसबाट सेना, नेपाल प्रहरी र कर्मचारीको पोशाक बनाउन सकेमात्रै पूर्णरुपमा व्यवस्थित हुनसक्ने आधार रहेको र भारतसहित अन्य देशहरुमा पनि निर्यातको प्रशस्त सम्भावना रहेकाले त्यो मोडालिटीमा जान सरकारलाई निजी क्षेत्रले सुझाएका छन् ।

बुटवलको औद्योगिक क्षेत्रमा यथेष्ट भौतिक पूर्वाधार (केही मर्मतगर्नुपर्नेबाहेक) रहेको, स्वदेशसँगै विदेशमा बजारको पूर्ण ग्यारेन्टी रहेको र केही पुराना मेसिन मर्मत गरी केही नयाँ थपेर सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेकाले नयाँ व्यवस्थापनमा सञ्चालन गर्नसके ठूलो रोजगारी दिनसकिने र बढ्दै गएको निराशा चिर्न सकिने उद्योगीव्यवसायीले बताइरहेका छन् ।

सरकारले यसैलाई आधार मानेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए) प्रक्रिया सुरु गरेपछि थन्किएको उद्योग सञ्चालन हुने आशा पलाएको हो ।

अर्थ मन्त्रालयबाट कृष्णकुमार भट्टराईको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले असार ५ गतेदेखि कारखानाको स्थलगत अध्ययन गरेर फर्केको थियो भने त्यसयता पनि समितिका सदस्यहरुले पटकपटक यहाँ आएर र अन्य क्षेत्रमासमेत अध्ययन गरिरहेको छ ।

यो समितिमा दुई इन्जिनियर, दुई चार्डर्ड एकाउन्टेन्ट र एक कानुनविज्ञसहितको टोलीले वास्तविक अवस्था निकाल्ने तयारी गरिरहेको छ ।

टोलीलाई भवन, मेसिनरी, उत्पादन पूर्वाधार, बजार सम्भावना र आवश्यक लगानीको मूल्याङ्कन गरी करिब दुई महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

यो बीचमा सरकार निकटकै केही व्यवसायीले भारतीय प्राविधिकलाईसमेत ल्याएर मेसिन चलाउन सकिने वा नसकिने, अनुमानित लागत र यसको बजारका विषयमा अध्ययन गरिरहेको छ ।

धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माले टोलीले सुरु र पछिल्लोपटक कारखानामै आएर पनि डिडिए टोलीले यसको अध्ययन गरिरहेको र केही समयमा प्रतिवेदन सरकारलाई बुझाइने बताए ।

उनका अनुसार अहिले डिडिएको टीमबाहेक अन्य धेरै उद्योगी तथा केही भारतीय प्राविधिकले पनि यहाँको अध्ययन गर्न आइरहेका छन् ।

त्यसो त सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमा यसलाई अघि बढाउने उल्लेख गरिसकेको छ । डिडिए सम्पन्न भएपछि उद्योग सञ्चालनको मोडालिटी तय गरिने र नयाँ प्रविधिसहित आवश्यक उपकरण जडान गर्नसके उद्योग पुनः सञ्चालन सम्भव रहेको शर्माको भनाइ छ ।

उद्योगीहरुका अनुसार अहिले यहाँ भौतिक संरचना तयारी अवस्थामा रहेको भए पनि केही मर्मत गर्न जरुरी छ तर त्यसको लागि त्यति धेरै लगानी हुँदैन ।

कारखानामा भौतिक संरचनाबाहेक करोडौँ मूल्यका मेसिन र उपकरण यसै थन्किएका छन् । विद्युत् नहुँदा मेसिन भवन अन्धकार छ र संरक्षणको अभावमा उपकरण दिन प्रतिदिन नष्ट भइरहेका छन् ।

टोली संयोजक भट्टराईले ३६ वर्ष पुराना मेसिनको अवस्था, धागोको बजार माग, निर्यात सम्भावना र उद्योग सञ्चालनका लागि आवश्यक लगानीबारे विस्तृत अध्ययन भइरहेको बताउँछन् ।

२०३९ चैत ३ गते निर्माण सुरु भई २०४८ वैशाखदेखि उत्पादन थालेको बुटवल धागो कारखाना व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप र कर्मचारी विवादका कारण २०६४ फागुनदेखि बन्द छ ।

२०६६ सालमा ४०२ कर्मचारीलाई सेवा सुविधासहित बिदा दिएपछि उद्योग पूर्ण रूपमा निष्क्रिय बनेको थियो । हाल उद्योगमा तीन कर्मचारी र दुई सुरक्षाकर्मी छन् ।

बन्द उद्योगका केही भवनमा दङ्गा नियन्त्रण प्रहरी गण बस्दै आएको छ भने कोरोना महामारीका बेला अस्थायी कोभिड अस्पतालसमेत सञ्चालन गरिएको थियो । यद्यपि भूमिगत विद्युत् संरचनालगायत केही महत्वपूर्ण सामग्री चोरी भएका छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली उद्योग पुनः सञ्चालन भए रोजगारी सिर्जना हुनुका साथै कपास खेती, कपडा उद्योग र समग्र पश्चिम नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन सकिने र बढ्दै गएको निराशा चिर्न सकिने तर यसअघिका सरकारले पनि सुरुमा अनुगमन गर्ने र चलाउने प्रचार गर्ने तर काम केही नगर्ने भएकाले अहिले नै विश्वास गर्न नसकिने बताए ।

सञ्चालन सम्भव नभए औद्योगिक प्रयोजनका लागि निजी क्षेत्रलाई जग्गा उपयोग गर्न दिनुपर्ने उनको सुझाव छ । सरकारी बहुमत लगानी रहेको यस उद्योगमा चार हजार ६ सय ३० जना सेयरधनी थिए तर सबै घाटामा देखाइयो ।

यस क्षेत्रका जानकारका अनुसार उद्योग पुनः सञ्चालनका लागि करिब एक अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ ।

सरकारले बुटवलमा धागो र हेटौँडामा कपडा उत्पादन गरी प्रारम्भिक चरणमा सरकारी कर्मचारीका पोसाक स्वदेशमै उत्पादन गर्ने योजना बनाएको र हेटौँडा सञ्चालनमा समेत आइसकेकाले यसलाई पनि चलाउन सकिने आधार बनेको व्यवसायीहरुको आशा छ ।

देशलाई कपडामा आत्मनिर्भर बनाउने उद्देश्यसहित तत्कालीन राजा वीरेन्द्र शाहको अवधारणामा यो कारखाना स्थापना गरिएको थियो ।

१ सय ४४ रोपनी क्षेत्रफलमा फैलिएको कारखानाले बुटवल औद्योगिक क्षेत्रको कुल भूभागको करिब एक तिहाइ भाग ओगटेको छ । धागो उत्पादनका लागि आवश्यक पर्याप्त औद्योगिक पूर्वाधार कारखानामा उपलब्ध थिए ।

यसलाई सञ्चालन गर्ने अभियान चलाएर सरकारलाई निरन्तर दबाब दिइरहेका युवा व्यवसायी प्रकाश भुसालले अहिलेकै अवस्थामा उद्योग सञ्चालन गर्न सकिने आफ्नो अध्ययनले देखाएको र बाहिर प्रचार गरिएजसरी त्यहाँ रहेका मेशिनरी सामानहरु मर्मत गरेर चलाउन नसकिने अवस्थामा नरहेको बताए ।

‘बजार ग्यारेन्टी छ, भौतिक संरचना तयार छ, मेसिन केही मर्मत गरेर चलाउन सकिने अवस्थामै छन्, यो चलाउने थोर केही मेशिन थप्न पनि सकिन्छ तर बजारमा निराशा मात्रै बाँडियो, चल्दैनन् भनेर,’ उनले भने ।

उनका अनुसार यो कारखाना चलाउन सुरुमै धेरै ठूलो पूँजी पनि आवश्यक पर्दैन तर कम्तीमा केही मेशिन मर्मत सुरु गरेर उत्पादन थालेपछि सबैतिर चलायमान बनाउने, बाँकेको कपास उद्योगसहित अन्य खाली क्षेत्रमा कपास खेती फस्टाउने र हेटौँडासँग लिंकअप गरेर स्वदेशी कपडाका लागि प्रयाप्त आधार रहेको छ । ‘सरकारले यसलाई जसरी पनि चलाउनुपर्छ, अहिलेकै मेशिनहरु अटोमेटिक बनाएर ३० प्रतिशत जनशक्ति कममा उत्पादन गर्न सकिनेगरी अध्ययन भएको छ, अहिले १० टनको क्षमता भएपनि सबै उत्पादन नहुनसक्छ तर तीन सिफ्टमा चलाएर निजी क्षेत्रर्लाइ ऊर्जा भराउन यसले ठूलो सहयोग पुराउनेछ,’ उनले भने ।

कारखानाका पूर्व बोर्ड सदस्य तथा नेपाल–भारतको कपडाका विषयमा जानकार रहेका व्यवसायी जीवन ओझाले उद्योगीहरुको व्यवस्थापन टीम बनाएर यसलाई सजिलै चलाउन सकिने र यसको बजारको ग्यारेन्टी भएको बताए ।

उनले नेपालगन्जको कपास उद्योग, बुटवल धागो कारखानाबाट धागो र हेटौँडाको कपडा उद्योगलाई मिलाएर ठूलो परियोजना बनाउनसके सेना–प्रहरी, कर्मचारीको ड्रेस उत्पादन र भारतीय बजारमा सहजै निर्धारण गरेर ठूलो आर्थिक स्रोत बनाउन सकिने आधार देखाए । ‘भौतिक पूर्वाधार तयारी अवस्था छ, मेसिनहरु पुरानो भए पनि धेरै रिपेरिङबाट चल्छन् तत्कालै, केही आधुनिक प्रविधिका पनि थप्दै जानुपर्ला,’ उनले भने, ‘पुरानो विषय केही छैन, म दुई कार्यकाल बोर्डमा रहेर काम गरेको हो, भारतमा यसको ठूलो माग छ, पहिले पनि पठाएको हो, प्रतिष्ठित व्यवसायी र विज्ञहरुको व्यवस्थापन टीम बनाएर यसलाई चलाउन ढिलाई नहोस् ।’

उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य तथा यसअघि उद्योग सञ्चालनको सर्वपक्षीय समितिका संयोजक रहेका व्यवसायी नवराज श्रेष्ठले तत्काल यसका केही मेसिन मर्मत गरेर सञ्चालन गर्ने र केही नयाँ प्रविधिको मेसिन भित्र्याएर सहजै पूर्णरुपमा उत्पादन गरेर चलाउन सकिने, नेपालसँगै भारतीय बजारमा यसको ठूलो मात्रामा निर्यात गर्न सकिने बताउँछन् । ‘यो तयारी खानाजस्तै हो, यसो मसला राखेर फुराएर खान मिल्ने अवस्थामै छ सजिलो उदाहरणका लागि, मार्केट छ, पूर्वाधार छ, अधिकांश मेशिन मर्मत गरेरै चल्छ, भवन सामान्य मर्मत गरेर चलाउन सकिन्छ, यस्तो मुख्य केन्द्रमा छ,’ उनले भने, ‘यसलाई नियतवश नै रोकिनुहुँदैन, सुरुमा १० टन उत्पादन भएपनि अहिले यही मेसिनबाट त्यो नहुनसक्छ, यसलाई निजीक्षेत्र साथ दिन तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *