सर्लाही, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन् । देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारका लागि सिंगापुर गएका थिए ।
सरकार निकटस्थ स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ बनेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको ती उच्च अधिकारीको दाबी छ ।
देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्याउने तयारी छ ।
देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ पुर्जी जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।
उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डाक्टर आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । देउवालाई स्वागतका लागि विमानस्थलमा स्वागतका लागि कांग्रेसको एउटा समूह जाने भएको छ ।
