सर्लाही, ०२ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियामा कृषि सिँचाइका लागि गाडिएको विद्युत् पोल भत्काइएपछि विवाद चर्किएको छ ।
किसानहरूको पहलमा जडान गरिएको पोल हिजो आइतबार बिहान रास्वपाका वडा सभापति रामनरेश साहले डोजर प्रयोग गरेर भत्काएका हुन् ।
स्थानीय राम छविला साहका अनुसार किसानहरूको पहलमा कृषि सिँचाइका लागि विद्युत् विस्तार गरिएको थियो । वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले गत असारको अन्तिममा पोल गाड्ने तथा तार विस्तार गर्ने काम सम्पन्न गरेको थियो ।
साहले विद्युत् पोलका लागि पहल गरेका आफ्ना भाइ रामनाथ साहमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्द्रनगर–४ का वडा सभापति रामनरेश साहले कुटपिट गरेको बताए । उनका अनुसार पोल गाडिएको स्थानलाई लिएर विवाद उत्पन्न भएको थियो ।
यता रामनरेश साहकी पत्नी किरण देवीले भने आफूहरू माथि नै कुटपिट भएको बताएकी छन् । उनले घर निर्माणका लागि तयारी गरिएको जग्गाभित्र पोल गाडिएकाले त्यसको विरोध गरिएको बताइन् ।
“हामीले घर बनाउनका लागि जग्गा तयार पारेका थियौं । सडक पनि जग्गाको बीचबाट निकालिएको छ,” उनले भनिन्, “सडक र पोलको व्यवस्थापन जग्गाको छेउबाट गर्न आग्रह गरेका थियौं । आफ्नो कुरा राख्न जाँदा हामीमाथि समेत कुटपिट भएको छ ।”
विवादकै बीच हिजो आइतबार बिहान करिब ५ बजे रामनरेश साहले आफ्नो जग्गामा रहेको विद्युत् पोल डोजर प्रयोग गरी भत्काएका छन् । उक्त पोल कृषि सिँचाइ प्रयोजनका लागि जडान गरिएको थियो ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा रास्वपाका वडा सभापति रामनरेश साहले ‘पछि कुरा गरौं’ भन्दै फोन काटे ।
त्यस्तै, स्थानीय महेन्द्र प्रसाद साहका अनुसार उक्त विद्युत् लाइन सञ्चालनमा आएपछि करिब ५० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको थियो । “किसानहरूलाई खेती गर्न सहज हुने अवस्था बनेको थियो, तर विवादका कारण काम प्रभावित भएको छ,” उनले भने ।
वडा अध्यक्ष राजीव सिंह दनुवारले किसानहरूको मागका आधारमा विद्युत् विस्तारको प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार वडा कार्यालयको सिफारिसपछि नेपाल विद्युत् प्राधिकरणले असारको अन्तिम सातामा आवश्यक संरचना जडानको काम सम्पन्न गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनापछि दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलाइएको छ ।
“दुवै पक्षले आफू पीडित भएको बताएका छन् । घटनाका सबै पक्षबारे बुझ्ने काम भइरहेको छ,” गौतमले भने ।
जग्गाको स्वामित्व, विद्युत् पोल जडानको प्रक्रिया तथा सार्वजनिक संरचनामा भएको क्षतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

