सर्लाही, ०२ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नवलपुरस्थित अञ्जली अस्पतालअगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो ।
अटोरिक्साको चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५ पोका गरी २२ किलो ८२० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अटो चालक हरिपुरवा नगरपालिका–२ का ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारुण साह र २५ वर्षीया राधिका साह रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
