काठमाण्डाै, ०३ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट (जलमार्ग) अमेरिकाको क्षेत्र घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘नयाँ अमेरिकी क्षेत्र’ लेखिएको ग्राफिक पोस्ट गरेका हुन् ।

यसैबिच ट्रम्पको दाबीलाई इरानको विदेश मन्त्रालयले भने ‘भ्रमपूर्ण’ भनी टिप्पणी गरेको छ ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले एक्समा लेखेका छन्, ‘डोनाल्ड ट्रम्पले फारसी खाडीलाई जसरी सही रूपमा लेख्न सिकेका छन्, त्यसरी नै हामी चाँडै हर्मुज स्ट्रेटबारे उनको गलत धारणालाई हटाउनेछौँ ।’

घरिबाबादीले आफ्नो पोस्टमा डोनाल्ड ट्रम्पले जारी गरेको हर्मुज स्ट्रेटको तस्बिर पनि सेयर गरेका छन् ।

स्ट्रेट अफ हर्मुज : के हो र कहाँ छ ?

अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो ।

विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ हर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ । 

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ हर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ हर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन् ।

युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ हर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *