सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलको बैठकमा मन्त्रीहरूले आफ्ना सांसदले प्रतिपक्षजस्तो व्यवहार गर्दा समस्या भएको गुनासो गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने बुधबार राखेको दलको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले गुनासो गरेका हुन् । ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो,’ गृहमन्त्री गुरुङले सभापति लामिछानेलाई भनेको विषय उद्धृत गर्दै एक सहभागी नेताले सुनाए, ‘घरको झगडा घर भित्रै राखौं, सदनमा विरोध नगरौँ ।’
गृह मन्त्रालयसँग सम्बन्धित गुनासो भए स्वकीय सचिव जेम्स कार्कीलाई टिपाउन गुरुङले आग्रह गरेको उनले बताए । ‘गृह मन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई भेटेर टिपाउनुहोला,’ गुरुङको भनाइ थियो ।
छलफलको सुरुवात गर्दै सभापति लामिछानेले सांसदहरूलाई मर्यादमा रहन निर्देशन दिएका थिए ।
संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हो। रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह भने बैठकमै गएनन् ।
प्रधानमन्त्री बनाउन दलको नेता बनाइएको बैठकमा बाहेक उनले अहिलेसम्म दलको बैठक राखेका छैनन् र सहभागि पनि भएका छैनन् । पार्टीभित्रैबाट सरकारको तीव्र आलोचना हुन थालेपछि सभापति लामिछाने संसदीय दलभित्र समेत सक्रिय हुन थालेका हुन् ।
