सर्लाही, ०३ भदाै । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखेका छन् ।
पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनेर आलोचना भइरहेको छ। यसै सन्दर्भमा रास्वपाले सांसदसँग छलफल गरेको हो ।
छलफलका क्रममा जनताका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी रहेको जनाइएको छ । संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् ।
रास्वपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना भइरहेको छ । त्यसलाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिएको जनाइएको छ ।
