सर्लाही, ०३ भदाै । तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ ।

स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सारेका छन् ।

प्रहरीले बालिका हराएको ३ दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।

स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मङ्गलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघिनै सोही २ जनाका विरुद्ध किटानी जाहेरी दिएका थिए ।

स्थानीयले सडक अवरुद्ध गरेपछि वीरगंज–पथलैया सडक खण्डमा सयौं गाडी तथा यात्रु अलपत्र परेका छन् ।

सडक खुलाउने विषयमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, एसपी नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन् ।

तर स्थानीयले प्रहरीले दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नछाड्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *