सर्लाही, ०४ भदाै । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ ।
डिभिजन अन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ती ठेक्काहरू रद्द गरिएका थिए ।
ठेक्का अन्त्यपश्चात्को कारबाही स्वरूप सार्वजनिक खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक-पटक प्रयास गरेको थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार रकम बुझाउन प्रयास गर्दा पनि हालसम्म दाखिला नभएकाले डिभिजनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रकम दाखिला गर्न आह्वान गरेको हो ।

