सर्लाही, ०६ भदाै । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एसियाली विकास बैंक (एडीबी)लाई नेपाली रुपैयाँमा आधारित ‘अफसोर’ ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ ।
नेपालको निजी क्षेत्रद्वारा प्रवर्द्धित विकास तथा पूर्वाधार आयोजनामा लगानी जुटाउन यी दुईलाई प्रतिसंस्था २० करोड अमेरिकी डलरबराबरको बन्ड जारी गर्ने अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
दुवै संस्थाले अब १० वर्षको अवधिभित्र अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँमा अंकित बन्ड जारी गर्न सक्नेछन् । यी संस्थाले नेपालका वाणिज्य बैंकहरूसँगको समन्वयमा निजी क्षेत्रका पूर्वाधार आयोजनामा उक्त रकम परिचालन गर्नेछन् ।
एडीबी र आईएफसीले अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँमा आधारित बन्ड जारी गर्ने प्रस्ताव अघि सारेको एक दशकभन्दा बढी समय भइसके पनि कानुनी तथा प्रक्रियागत जटिलताका कारण त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले यो निर्णयबारे टिप्पणी गर्दै अफसोर बन्ड नेपालका निम्ति स्रोत व्यवस्थापनको एक व्यावहारिक र नयाँ विकल्प भएको बताएका छन् ।
आवधिक योजना तथा राष्ट्रिय विकासका लक्ष्य पूरा गर्न आवश्यक ठूलो स्रोतको खाडल पूर्ति गर्न यो कदम कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।
