सर्लाही, १० भदाै । बारामा हराएकी बालिका सुरक्षित फेला परेकी छन् । घरबाट बाहिर गएकी ११ वर्षीया बालिका पर्साको वीरगञ्जस्थित बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार जितपुर सिमरा उपमहानगरपालिका–६ सिदरिया टोलकी गुलाब्सा खातुनकी छोरी सनाया खातुन गत जेठ १७ गते घरबाट कसैलाई जानकारी नदिइ निस्किएकी थिइन् ।

आफन्त तथा छरछिमेकमा खोजतलास गर्दा पनि फेला नपरेपछि उनकी आमाले भदौ ९ गते इलाका प्रहरी कार्यालय सिमरामा बालिकाको हुलियासहित खोजीका लागि निवेदन दिएकी थिइन् ।

सो निवेदनपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले बालिकाको घरमा पुगेर उनकी आमा र स्थानीय जनप्रतिनिधिसँग सोधपुछ तथा खोजी थालेको थियो ।

खोजीको क्रममा बालिका वीरगञ्जस्थित एक बालगृहमा सुरक्षित रहेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षा समितिका पदाधिकारी, प्रहरी टोली तथा बालिकाकी आमा बालगृह पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराले जनाए अनुसार बालिका सकुशल रहेको र आमाको सहमतिमा बालगृहमा बस्दै आएको पाइएको छ । बारा प्रहरीले सनाया यसअघि पनि दुई पटक घरबाट हराएकी थिइन् ।

गत फागुनमा हराउँदा इलाका प्रहरी कार्यालय सिमराले फेला पारी परिवारको जिम्मा लगाएको थियो । त्यस्तै वैशाखमा हराएकी उनलाई जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरले फेला पारी आमालाई बुझाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *