सर्लाही, ११ भदाै । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित जिल्लाका कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन दिएको छ ।
बिहीबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । यससँगै मातहतका कर्मचारीलाई सात बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले दिएको निर्देशन :
१) बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा परिचालित भई प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अनुरोध गर्ने ।
२) विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने ।
३) मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरुमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने ।
४) नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्साङ्कन (Disaster Mapping) को कार्य गर्ने ।
५) अर्को व्यवस्था नभएसम्म बाढी प्रभावित जिल्ला तथा स्थानीय तहका कर्मचारीले आफ्नो कार्यस्थल नछोड्ने र कार्यस्थल बाहिर रहेका सबै कर्मचारीलाई अविलम्ब कार्यस्थलमा फर्कन सूचित गर्ने ।
६) राहत सामग्री व्यवस्थापन गर्न, लाभग्राहीको विवरण तयार गर्न तथा अन्य कार्यका लागि थप जनशक्ति व्यवस्था गर्नुपर्ने भएमा मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी उपलब्ध गराउने ।
७) विपद् सम्बन्धी कार्यमा समन्वय तथा सहयोगको लागि मन्त्रालयका विपद् सम्पर्क व्यक्तिको देहाय बमोजिमको विवरण सार्वजनिक गर्ने
समन्वयका लागि विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखा
शाखा अधिकृत, तुलसीराम पौडेल, मोबाइल नम्बर: ९८६७९२६९९३
उपसचिव, दीपक ढकाल, मोबाइल नम्बर: ९८५११६४५८०८
