सर्लाही, १३ भदाै । भारत सरकारले तेस्रो उडानमार्फत थप सहायता सामग्री पठाएको छ । १० टन मानवीय सहायता सामग्री र विशेष उद्धार टोली बोकेको भारतीय वायुसेनाको विमान शुक्रबार राति काठमाडौँ अवतरण गरेको हो ।
विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले उक्त राहत सामग्री बुझेका हुन् । भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस बारे जानकारी दिँदै नेपालको राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका छन् ।
उनका अनुसार यो तेस्रो उडानमा पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्यान्नका प्याकेट र पानी शुद्धीकरण गर्ने ट्याब्लेटहरू लगायतका अत्यावश्यक सामग्री रहेका छन् ।
सामग्रीका साथै भारतले ११ सदस्यीय एक विशेष टोली पनि पठाएको छ । जसमा चिकित्सक, प्यारामेडिक्स र सुरुङ उद्धार कार्यका लागि विशेष ‘रेक्की’ टोली समावेश रहेका छन् ।
यो विज्ञ टोलीले बाढी प्रभावित क्षेत्रमा भइरहेका जटिल उद्धार कार्यमा प्राविधिक सहयोग पुर्याउनेछ ।
