सर्लाही, १४ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् ।
यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्काबापत समान १ हजार ५०० रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका छन् ।
यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ ।
एसीसी प्रिमियर कप आजदेखि मलेशियामा शुरू भएको छ । १० वटा टोली सहभागी ५० ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर १२ सम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यो खेल मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा बिहान सवा ७ बजे शुरू हुनेछ ।
