सर्लाही, १५ भदाै । प्रधानमन्त्री बालेन शाहले रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताएका छन् ।
भदौ १० गतेको विनाशकारी बाढीयता सामाजिक सञ्जाल फेसबुकमार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्री बालेनले आइतबार राति साढे ८ बजेको पोस्टबाट उक्त जानकारी दिएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’ ले दिएको विवरण अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन् । यहाँ अहिलेसम्म २५४ जनाको उद्धार गरिएको र ३०० जना सुरूङमा फसेको इप्पानले जनाएको छ ।
प्रधानमन्त्री बालेनले प्रभावित क्षेत्रका विद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको बताएका छन् ।
माथिल्लो त्रिशूली–१ आसपासबाट पछिल्ला २ दिनमा २५० जनाको उद्धार गरिएको उल्लेख गर्दै उनले चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको जानकारी दिएका छन् ।
त्यस्तै, नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको प्रधानमन्त्रीको स्ट्याटसमा छ। उनले उद्धारका लागि नेपाली सेनाका इन्जिनियरद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको बताएका छन् ।
‘घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ ।
टोलीले आइतबार दिउँसो सुरूङको मुख्य भागमा पुगेर २x३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन ।
त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ,’ उनले लेखेका छन् ।
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी रहेको उनले जानकारी दिएका छन् ।
आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको र चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री बालेनका अनुसार रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एक्स्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ ।
त्यस्तै, रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ । भारतीय टोलीले नेपाली सेनासँगको समन्वयमा रेकी गरी पम्प र एक्स्काभेटर लगेर थप काम सुरू भएको छ ।
रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम सुरू गरिसकेको उनले लेखेका छन् ।
