सर्लाही, १७ भदाै । त्रिशूली ३ ‘ए’को सुरुङको मुखमा रहेका ७ वटा रहेका ७ वटा ठूला ढुंगा विस्फोट गरी हटाइएको छ ।
सुरुङ क्षेत्रमा रहेका रास्वपा सांसद् श्रीराम न्यौपानेले सामाजिक सञ्जालमा अपडेट गरेअनुसार मंगलबार रातभर जमेको पानी निकालेर सुरुङको मुखका अप्रत्यासित ठूला ७ वटा कडा ढुंगा विस्फोट गरी हटाइएको हो ।
उक्त स्थानबाट अब ती ढुंगा सफा गर्दै तल झर्ने काम भइरहेको जानकारी पनि उनले दिएका छन्। ‘लेभल डाउन गर्ने काम भइरहेको छ,’ उनले भनेका छन् ।
सुरुङ भित्रको लेदो सफा गरेर बाहिर ल्याउन ह्विल लोडर र मिनी एक्साभेटर तयारी अवस्थामा राखिएको जानकारी पनि उनले दिए ।
सुरुङ सफा गर्दै १६० मिटर पार गरेपछि पावरहाउस पुगिने जानकारी उनले दिए ।
‘पावर हाउसमा मात्र सुरक्षित ठाउँ मान्न सकिन्छ,’ उनले भनेका छन् ।
त्रिशूली ३ ‘ए’को सुरुङभित्र हराइरहेका कर्मचारी र मजदूरहरूको अहिलेसम्म कुनै संकेत भेटिएको छैन । यद्यपि पावरहाउससम्म पुग्ने प्रयास भने सेना र प्राविधिकसहितको टोलीले गरिरहेको छ ।
