सर्लाही, १८ भदाै । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पनि जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि नचाहिने बताएका छन् । 

भदौ १० को भोटेकोसी बाढीले गरेको जनधनको क्षतिलाई लिएर बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका घिसिङले पर्याप्त उपकरण घटनास्थलमा पुर्‍याएर उद्धार प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । 

उज्यालो नेपाल पार्टीका पदाधिकारीलाई साथै लिएर प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका घिसिङले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई सुझावसमेत दिएको बताए ।

केही दिनअघि बाढी प्रभावित क्षेत्र पुगेका घिसिङले बाढीग्रस्त क्षेत्रमा आफूले भोगेका र देखेका समस्या समाधानका उपाय प्रधानमन्त्री शाहलाई सुझाएको बताएका छन् । 

प्रधानमन्त्री शाहले घिसिङसँग जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मानिसको उद्धार सम्बन्धमा विशेष चासो राखेका थिए ।

‘मुख्यगरी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँको जिज्ञासा र चासो थियो। त्यसबारे हामीले बुझेका र गर्नुपर्ने कामहरू उहाँसमक्ष राखेका छौं,’ घिसिङले भने, ‘जस्तोसुकै काम गर्नुपरे पनि सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै स्रोत परिचालन गर्ने उहाँले भन्नु भएको छ ।’

प्रधानमन्त्री शाहले देशभित्र भएका स्रोतसाधनले नपुगे विदेशबाट भए पनि झिकाएर सुरुङ उद्धारलाई प्रभावकारी बनाउने बताएको उनले जानकारी दिए । 

बुधबार संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री शाहले सुरुङ उद्धारका लागि कुनै प्रविधि नभएको भन्दै दिएको प्रतिक्रियालाई घिसिङ पनि सहमत देखिएका छन् । 

‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन । कामैले गर्ने हो । हामीले घटनास्थलमा आवश्यक उपकरणहरू लैजानुपर्‍यो । उद्धार टोली हुनुपर्‍यो । टिमले मात्रै नपुग्ने भएकाले पर्याप्त उपकरण पुग्नुपर्‍यो । मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्‍याउन गाह्रो भएकाले हो,’ घिसिङले भने ।

उनले पर्याप्त उपकरण त्यहाँ पुर्‍याएर सुरुङमा जमेको गेग्रान, ढुंगा हटाएर उद्धार प्रभावकारी हुने बताए। यसका लागि कुनै विशेष प्रविधि नचाहिने घिसिङको भनाइ थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *