सर्लाही, १९ भदाै । रसुवा बाढीको १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहले दुर्घटना भएका बेला अरुलाई बचाउन खोज्दा आफू भित्रै फसेको बयान दिएका छन् ।
शुक्रबार सुरुङबाट उद्धार गरिएका उनको अहिले उपचार भइरहेको छ । दुर्घटनाका बेला सुरुङभित्र ४०/४५ जनाको टोली रहे पनि अरुलाई बचाउन खोज्दा आफूसहित केही मानिस भित्रै फसेको बताएका हुन् ।
उनले भने, ‘१० बजेतिर होला । हामीहरू भित्र ४०/४५ जना थियाैँ । दुर्घटना भएपछि एक्लै भागेर भएन । अरुलाई भाग्न सहयोग गर्दा मसहित केही मानिसहरू भित्रै फस्याैँ ।’
उनले सुरुङभित्र थप मानिसहरू हुनसक्ने बताए । ‘लामो सुरुङ छ । हामी भएको ठाउँनिर त तीनचार जना थियाैँ । होला अझै भित्रतिर मानिसहरू फसेको हुन सक्छ ।’
उनले १० दिनसम्म आफूले सुरुङमा महामन्त्र जपेर बसेको बताए । ‘यत्रो दिनसम्म महामन्त्र जप गर्दै बसेको थिएँ’, उद्धारपछि उनले भनेका छन्, ‘हरे राम, हरे कृष्ण ।’
