रसुवागढी हाइड्रोको छैटौँ तलामा पुग्यो उद्धार टोली

Byसदाम हुसैन

२०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार २०८३ भाद्र २१, आइतवार

सर्लाही, २१ भदाै । भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य आज पनि निरन्तर रह्यो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले शनिबार रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत् गृहको छैटाैँ तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको छ ।

पाँचौँ तलासम्म लेदोले भरिएकाले उद्धार टोलीले थप खोजी कार्य जारी राखेको छ । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि सेनाका ७५, सशस्त्र प्रहरीका १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ ।

त्रिशूली–३ ‘बी’मा सैनिक ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी रहेको सेनाले जनाएको छ । टोलीले अडिट २ टनेलबाट ‘एक्साभेटर’ लैजान सक्नेगरी बाटो सफा गरेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनि एक्साभेटर’ र पम्पको सहायताले लेदो फाली १०५ मिटर भित्रसम्म खोजी गरेको छ । सो ठाउँभन्दा भित्र जाने गरी टोलीले काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङको २५० मिटरभित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले आज चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

टोलीले सो क्षेत्रबाट थप दुई वटा शव निकालेको छ । सो सुरुङमा रहेको लेदो हटाउँदै खोज तथा उद्धारलाई निरन्तरता दिइएको सेनाले जनाएको छ ।

देवीघाटमा ‘एक्रो ब्रिज’ जडान हुँदै सेनाले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ताँदी नदीमा ‘एक्रो ब्रिज’ जडान गरिरहेको छ । उक्त पुल जडान गर्न सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *