सर्लाही, २२ भदाै । सर्लाहीमा वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल र समन्वयमा पीडितहरूले फिर्ता पाएका छन् ।
ईश्वरपुर नगरपालिका-१ का राजेन्द्र महतोका छोरा राकेश महतो भन्ने नथुनी महतोले मलंगवा नगरपालिका-१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका-६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका-६ का सन्दीप यादवलाई मौरिसस पठाइदिने भन्दै उनीहरूबाट १२ लाख रुपैयाँ असुल गरेका थिए ।
रकम लिएपछि लामो समयसम्म विदेश नपठाएको तथा रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
पीडितहरूको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले पहल तथा समन्वय गरेपछि प्रशासन कार्यालयको रोहवरमा आरोपीका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी गरिएको १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।
