बाढी प्रभावित अधिकांश ठाउँमा इन्टरनेट सेवा पुनः सुरु

Byसदाम हुसैन

२०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार २०८३ भाद्र २२, सोमवार

सर्लाही, २२ भदाै । रसुवा बाढीले अबरुद्ध संचार सेवा अधिकांश ठाउँमा सुरु भएको छ । विशेषगरी, एनसेल, वर्ल्डलिंक लगायतले आफ्नो सेवा पुनः सुचारु गरेका छन् ।

बाढी प्रभावित रसुवा क्षेत्रमा वर्ल्डलिंकको इन्टरनेट सेवा अधिकांश ठाउँमा फेरि सुरु भइसकेको छ । वर्ल्डलिंकका सीईओ केशव नेपालका अनुसार बेत्रावती, धुन्चे र वरपरका मुख्य क्षेत्रहरूमा सेवा पुनःस्थापना भएको छ ।

‘सबैतिर रिस्टोर भयो भन्न मिल्छ । त्रिशुली पारीका केही दुईतीन वटा वडामा भने पारी जान कठिनाई भएर केही ढिला भएपनि हामीले अन्यत्र जोडिसकेका छौँ,‘ उनले भने ।

नेपालका अनुसार बाढीका कारण करिब एघार हजार प्रयोगकर्ता प्रभावित थिए । तीमध्ये अधिकांश अहिले अनलाइन आइसकेका छन् । एघार हजारमा आठ हजार प्रयोगकर्ता अनलाइन देखाएको अवस्था छ । त्यसबाहेक बाढीले कतिपयको घर नै लगेको अवस्थामा भने कनेक्सन हुननसकेको हो ।

‘कतिपय घरहरू बगेका छन्, तिनीहरू त अनलाइन आउने कुरा भएन,‘ नेपालले थप भने । अन्य सेवा प्रदायकहरूको अवस्था भने फरक छ ।

लोकल आईएसपीहरूले पनि सेवा पुनस्थापनाको लागि काम गरिरहेका छन् । यद्यपि, एक जनाको आईएसपीकै परिवारमा दुःखद घटना भएकाले त्यसको काम भने अघि बढेको छैन ।

‘यसरी लगभग सेवाहरु सुरु हुन थालेको देखिन्छ । हामीले चाहिँ फाइबर क्रस गर्ने मुख्य कामहरु गरिसकेका छौँ । रसुवा र नुवाकोटलाई जोडिसकेका छौँ,‘ नेपालले भने ।

रसुवा बाढीपछि टुटेको सञ्चार जोड्न वर्ल्डलिंकले आइतबारबाटै काम थालेको थियो । बुधबार बाढी आएपछि केही दिन पर्ख र हेरको अवस्थामा रहेपनि आइतबारबाट निरन्तर काम थालेको थियो । तार जोड्ने क्रममा झुन्डिएर प्राविधिकहरुले काम गरिरहेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ ।

काम सुरु गर्न टोलीले समयमै कदम चालेको थियो । बाढी बुधबार आएको थियो । शनिबारसम्म अलि सुकेपछि आइतबार टोली काठमाडौंबाट हिँड्यो ।

नेपालले भने, ‘हामी आइतबार यहाँबाट हिँडेका थियौँ । सोमबार बल्ल पुग्यौँ । मंगलबारबाट फाइबर तान्न काम सुरु गरेको हो । अहिलेसम्म लगभग सबै पुनस्थापना सकियो । अब जानै नसकेको त्रिशुली पारी पनि तीन वडामा पनि प्रयास जारी छ ।’

वर्ल्डलिंक को टोलीमा करिब बाह्रचौध जना प्राविधिक थिए । यिनै प्राविधिकले बेत्रावती र धुन्चेमा सेवा सुरु गराए । अहिले पनि बाँकी प्रभावित क्षेत्रमा काम गरिरहेको छ ।

उक्त क्षेत्रमा करिब एघार हजार प्रयोगकर्ता रहेका वर्ल्डलिंकमा ८ हजार राउटर अनलाइन देखाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *