सर्लाही, २२ भदाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको जनाएको छ । 

सोमबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसकेको बताए ।

हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उप्रेतीको भनाइ छ । 

‘धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ । केही ठाउँमा हेलिकप्टर अपरेसन एकदमै अप्ठ्यारो भएको छ । त्यस्ता ठाउँमा अहिले खोज तथा उद्धारका लागि मात्रै महत्त्वपूर्ण सामग्री पठाउनुपर्ने भएकाले राहत सामग्री पठाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘त्यसलाई पनि कसरी सम्बोधन गर्ने भनेर हामी काम गरिरहेका छौँ ।’

हेलिकप्टरबाट राहत लैजानुपर्ने क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए । स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढाएको उनको भनाइ छ । 

‘हाम्रो अपरेसनको हेलिकप्टर त्यहाँ गएको हुँदैन, त्यतिबेला हामी काठमाडौँबाट मात्रै होइन, चाहे त्रिशूलीबाट होस् वा रसुवाबाटै जहाँसम्म हेलिकप्टर जान सक्छ, त्यहाँबाट खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ,’ उनले भने । 

विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको उनले जानकारी दिए। तीन वटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै उद्धार तथा राहतमा सक्रियतापूर्वक काम गरिरहेको उनले बताए । 

‘उद्धार र राहतमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राज्यको तर्फबाट गर्नुपर्ने कुरामा हामी एकदमै संवेदनशील छौँ। हामीले डे वानको बिहान, साँझ र रात कुनै समय पनि नभनी निरन्तर काम गरिरहेका छौँ,’ उनले भने । 

सामाजिक सञ्जालमा कुनै किसिमका फेक भिडिओ नफैलाईदिन पनि उनले आग्रह गरेका छन्। हाल सामाजिक सञ्जालमा राहत तथा उद्धारको सन्दर्भमा धेरै फेक भिडिओ फैलिएको पाइएको उनले उल्लेख गरे ।

सामाजिक सञ्जालमा फैलिएका फेक भिडिओले जनमानसमा नकरात्मक प्रभाव पार्ने भएकोले त्यसतर्फ सर्तक हुन उनले आग्रह गरे । 

‘कतिपय हाम्रो फिल्डमा नभएका, घटनास्थलमै नभएका केही फेक भिडिओहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको अवस्था हामीले पायौँ ।

त्यसले जनमानसमा एकखालको नकारात्मक प्रभाव पनि पारेको देखियो,’ उप्रेतीले भने, ‘फेक भिडिओहरूले दिने मिसइन्फर्मेसन पार्ने प्रभावका बारेमा हामीले हेर्नुपर्ने हुन्छ ।’

छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि उनले बताए । राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *