सर्लाही, २६ भदाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका हुन् ।
‘एक दिन पनि, एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन । ४ गते (असोज) देखि हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ,’ सभापति थापाले भने, ‘१६ गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं । हामी समयमा महाधिवेशन सम्पन्न गर्छौं ।’
संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसलाले बाँधिएकाले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्नेमा थापाको जोड थियो ।
‘महाधिवेशनका बारेमा तिथि-मिति कहीँ कतै सर्छ कि, अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही साथीहरूले अलमलहरू राख्नुभएको मैले पाएँ,’ उनले भने, ‘हामी संविधानले पनि बाँधिएका छौं, पार्टीको विधानले पनि बाँधिएका छौं । सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौं ।’
सभापति थापाले कसैलाई पनि वञ्चित नगरिएकाले महाधिवेशनमा सबैको सहभागिता रहने पनि विश्वास व्यक्त गरे ।
‘मलाई के विश्वास छ भने सबै साथीहरूले महाधिवेशनमा भाग लिनुहुन्छ,’ उनले भने, ‘कोही साथीलाई महाधिवेशनमा भागलिनबाट बञ्चित गरिएको छैन । सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ ।’
सभापति थापाले महाधिवेशनपछि ७७ वटै जिल्लाका गाउँ–गाउँ जाने पनि बताए । ‘महाधिवेशन सम्पन्न गर्न साथै हाम्रो काम भनेको ७७ जिल्ला पुग्छौं,’ उनले भने, ‘देशभरि जान्छौं । गाउँ–गाउँ जान्छौं ।’
