सर्लाही, २९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवा भोटेकोसी बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए ।

‘यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ,’ उनले भने ।

प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वाससमेत व्यक्त गरे ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरुले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका वस्तीहरु जोखिममा रहेको विषय उठाउँदै आएको बताए । 

उनले स्थानीय जनप्रतिनिधिहरूले भनेजस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनःवस्ती बसाउन सम्भव नहुने बताए । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा वस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए ।

उनले भने, ‘वस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै,  वैज्ञानिक वस्ती व्यवस्थापन गर्नुपर्छ ।’ 

यसका लागि प्रधानमन्त्री शाहले आफैँ जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *