सर्लाही, १ असाेज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै  हाजिरी काटेका छन् ।

अध्यक्ष महतोले बुधबार प्रमुख प्रशासकीय अधिकृत साहको हाजिरी काटेका हुन् ।

अध्यक्ष महतोले चालु आर्थिक वर्ष सुरु भएयता प्रमुख प्रशासकीय अधिकृत साहको उपस्थिति न्यून रहेको दाबी गरे । अध्यक्ष महतोका अनुसा साउन महिनामा साहको हाजिरी सात दिन मात्र देखिएको छ । बाँकी दिन ‘काठमाडौं काज’ उल्लेख गरिएको अध्यक्ष महताले बताए ।

‘यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो । जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने ।

उनले गत आर्थिक वर्ष गाउँ गौरव आयोजनाअन्तर्गत विनियोजित ९ करोड ४० लाख रुपैयाँ बजेट कर्मचारीकै कारण खर्च हुन नसकेर फ्रिज गएको आरोप लगाए ।

यता प्रमुख प्रशासकीय अधिकृत साहले भने विवाद असार मसान्तदेखि नै सुरु भएको बताए । उनका अनुसार भदौ १० गते गाउँसभा सम्पन्न भएपनि बजेट तथा कार्यक्रम कानुनबमोजिम प्रमाणित नगरिएको विषयमा आफ्नो असहमति रहेको उनले बताए ।

‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ,’ प्रमुख प्रशासकीय अधिकृत साहले भने, ‘त्यसपछि मात्रै अख्तियारी प्राप्त हुने र योजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने हो ।’

उनले बजेटमा प्रशासनिक खर्च कटौती गरिएको र तर्जुमा दिग्दर्शनविपरीत बजेट ल्याइएको भन्दै अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।

आफू कार्यालयमा अनुपस्थित रहेको आरोप अस्वीकार गर्दै साहले भदौ २४ र २५ गतेसम्म कार्यालय गएको दाबी गरे । स्वास्थ्य समस्याका कारण नियमित रूपमा उपस्थित हुन नसकेको उनको भनाइ छ ।

विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा छलफल भएको थियो । छलफलपछि कार्यपालिका बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *