सर्लाही, ०२ असाेज । कुकुरमाथि हिंसा गर्दै पुलबाट नदीमा फॅ्याक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३, पाडेसकी ४२ वर्षीया विमला देवी रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार रोकायालाई बिहीबार दिउँसो उनकै निवासबाट नियन्त्रणमा लिइएको हो ।
केही दिनअघि कुकुरमाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीमाथि छानबिन सुरु गरेको थियो ।
उक्त भिडियो करिब दुई हप्ता पुरानो भएको बताइएको छ । भाइरल भिडियोपछि स्थानीय र एनिमल राइट्सका अभियन्ताहरूले कुकुरको खोजी र दोषीमाथि कारबाहीको माग गरेका थिए । प्रहरीले कुकुर भने फेला पर्न सकेको छैन ।
रोकायालाई हाल प्रहरी हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
