सर्लाही, ०९ असोज । ‘दुःखको पनि सीमा हुन्छ’ भनिन्छ, तर रोल्पा नगरपालिका-१० ढवाङकी २८ वर्षीया दोर्णा डाँगीको जीवनमा आइपरेको पीडाको कुनै सीमा देखिँदैन। एकपछि अर्को विपत्तिले उनको जीवनलाई यसरी थिचेको छ कि न आँसु झार्ने समय छ, न पीडा सुनाउने फुर्सद।

अहिले उनको पेटमा ९ महिनाको गर्भ छ। डाक्टरले यही असोज २० गते सुत्केरी हुने सम्भावित मिति दिएका छन् । जुन समयमा श्रीमान्‌को हात समातेर नयाँ सन्तानलाई संसारमा स्वागत गर्ने तयारीमा हुनुपर्ने हो, त्यही बेला उनी आफ्नै श्रीमान्‌को सास र लासको टुङ्गो नपाएर काजकिरियामा बस्न विवश छिन्।

उनका श्रीमान् लेखराज रोका क्षेत्री गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता छन् । लेखराजका साढुदाइ राजेन्द्र महत पनि त्यही दिनबाट बेपत्ता छन् । परिवारले खोजी जारी राखे पनि अहिलेसम्म लेखराजको कुनै पत्तो छैन। अन्ततः सास र लास दुवैको आशा मारेर ४ दिनद्खि दोर्णा किरियामा बसेकी हुन् । 

यसअघि नै दुई सन्तान उपचारका क्रममा गुमाइसकेकी दोर्णाका लागि पेटमा हुर्किरहेको बच्चा श्रीमान्‌को ‘अन्तिम चिनो’ हो। त्यही बच्चालाई सकुशल जन्म दिनु उनको अहिलेको सबैभन्दा ठूलो चाहना हो, तर आर्थिक अभावका कारण त्यो बाटो पनि सहज छैन।

दोर्णाले यसअघि नौ महिनाकी छोरी गुमाएकी थिइन्। उपचार गर्दागर्दै छोरी बितेको घाउ सेलाउन नपाउँदै ६ महिनाको छोरा पनि बिरामी परेर संसारबाट बिदा भयो। दुई-दुई सन्तानलाई उपचारकै क्रममा गुमाउनुको पीडा शब्दमा बयान गर्न सकिँदैन। त्यो पीडाबाट सम्हालिन नपाउँदै फेरि श्रीमान् बेपत्ता भएपछि उनी मानसिक रूपमा विक्षिप्त बनेकी छन्।

‘कुनै पनि मान्छेमाथि यस्तो संकट एकैपटक आउँदैन। पहिले नौ महिनाकी छोरी उपचारकै क्रममा गुमाइन्, पछि ६ महिनाको छोरा पनि गुमाइन्। अहिले अर्को बच्चा जन्माउने बेला भएको छ। तर, यस्तो अवस्थामा श्रीमान्‌को अत्तोपत्तो छैन, बहिनीको अवस्था देखेर अनुमानसमेत गर्न सकिँदैन,’ दोर्णाकी दिदी दुर्गा डाँगी भावुक बनिन्।

शरीरले पूर्ण आराम खोज्ने संवेदनशील समयमा उनी किरियाको कठोर नियममा बाँधिएकी छन्। गर्भको बच्चाको स्वास्थ्य र सुत्केरी खर्च कसरी जुटाउने भन्ने चिन्ताले बहिनीलाई पिरोलिरहेको दुर्गा बताउँछिन् ।

‘बहिनीले कति पीडा थेग्न सकेकी छिन्, त्यो हामीले मात्र देखेका छौँ,’ दुर्गाले भनिन्, ‘यही असोज २० गते सुत्केरी हुने मिति छ। तर, श्रीमान्‌को कुनै खबर नआएपछि बाध्य भएर किरियामा बसेकी छन्। किरियाको खर्चसमेत जुटाउन समस्या छ, कतैबाट सहयोग पाउन सकिएको छैन।’

दोर्णाको परिवारमा पुरानै ऋणको बोझ छ। यसअघि दुई सन्तानको उपचार गर्दा आफन्त र साथीभाइसँग लिएको ऋण अझै तिर्न सकिएको छैन। त्यसमाथि कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवारमा अर्को बज्रपात थपियो । 

दोर्णाका श्रीमान् लेखराज रोजगारीको खोजीमा गत फागुनमा रसुवा पुगेका थिए । उनलाई साढुदाइ राजेन्द्र महतले काम गर्न बोलाएका थिए। राजेन्द्र रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सुपरभाइजरका रूपमा कार्यरत थिए। उनकै माध्यमबाट लेखराज पनि सोही आयोजनामा काम गर्न पुगेका थिए। तर, परिवारको आर्थिक अवस्था सुधार्न गएका उनीहरू दुवै जना भदौ १० को बाढीमा बेपत्ता भए।

राजेन्द्रकी श्रीमती अमृता महत (दोर्णाकी दिदी) पनि श्रीमान्‌को आशा मारेर किरिया बसेकी छन्। एउटै घटनामा दुई दिदीबहिनीका श्रीमान् बेपत्ता भएपछि सिङ्गो परिवार शोकमा डुबेको छ। तर, विपत्तिको यस घडीमा स्थानीय सरकार र राज्यको व्यवहार विभेदपूर्ण रहेको परिवारको गुनासो छ।

‘बहिनीको घरमा यस्तो अवस्था हुँदा अहिलेसम्म कसैले गतिलो साथ दिएन । दिदीको घरमा स्थानीय सरकारले केही सहयोग पुर्‍याए पनि बहिनीको अवस्थाप्रति भने पूरै बेवास्ता गरियो,’ दुर्गाले आक्रोश पोखिन्, ‘समस्या पर्दा नहेर्ने भए स्थानीय र प्रदेश सरकार किन चाहियो ? बहिनीको घरमा कसैले एक बोरा चामल लगिदिएबाहेक अरू केही सहयोग भएको छैन ।’

भदौ १० गतेदेखि हालसम्म करिब एक महिना बितिसक्दा पनि बेपत्ता श्रीमान्‌को कुनै अत्तोपत्तो छैन । दुई सन्तान गुमाएको घाउ, पुरानो ऋण, सुत्केरी हुने दिन नजिकिनु र किरिया खर्चको अभाव-यी सबै पीडा २८ वर्षीया दोर्णाले एक्लै झेलिरहेकी छन् ।

दोर्णाका लागि अहिले पेटमा हुर्किरहेको बच्चा केवल सन्तान मात्र होइन, दुई पटक गुमेको मातृत्वको अन्तिम आशा र श्रीमान्‌को जीवित सम्झना पनि हो । तर, अहिले उनलाई खोक्रो सहानुभूतिभन्दा पनि सुरक्षित रूपमा सन्तान जन्माउने वातावरण, उपचार, पोषण र काजकिरिया खर्चको खाँचो छ ।

यस्तो चरम संकटमा परेको परिवारलाई राज्य र समाजले साथ दिने कि आफ्नै पीडामा छटपटाउन एक्लै छोडिदिने ? दोर्णाको परिवारले यतिबेला यही प्रश्न गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *