सर्लाही, ०९ असोज ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनलाई कुनै दल विशेषको रूपमा हेर्न नहुने बताएका छन् । प्रवक्ता देवराज चालिसले महासभालाई सम्बोधन गर्न जानुअघि नै पार्टीको तर्फबाट सुझाव दिएको स्मरण गरे ।

उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जानुअघि कांग्रेसले आफ्नो सुझाव प्रधानमन्त्रीलाई बुझाइसकेको छ। अब प्रधानमन्त्रीले बोल्ने भाषा भनेको देशको प्रतिनिधित्व गर्ने भाषा हो । त्यो कुनै दलको हुँदैन, सबैको हुन्छ ।’

उनले प्रधानमन्त्रीले राष्ट्रको प्रतिनिधित्व गरेर बोलेको बताए ।

उनले थपे, ‘त्यहाँ प्रस्तुत गर्ने विषय र तथ्याङ्कले राष्ट्रिय एउटा आधार बोकेको हुन्छ, एजेन्डा बोकेको हुन्छ । बाँकी कुरा प्रधानमन्त्रीको सन्देश र उहाँको सम्बोधन कांग्रेसको सुझाव अनुकूल नै छ। तर यसका अतिरिक्त परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले सार्वजनिक गरेको तथ्याङ्कमामा फरक देखियो । रिकभरीको १५ प्रतिशत परराष्ट्रमन्त्रीले देखाउनुभएको छ, प्रधानमन्त्रीले १०, त्यो कुरामा ध्यान दिनुपर्थ्यो ।’

अन्तर्राष्ट्रिय मञ्चमा फरक आँकडा प्रस्तुत गर्दा विश्वसनीयतामा प्रश्न उठ्नसक्ने बताए। उनले थपे, ‘यसरी फरक-फरक आँकडाहरू प्रस्तुत गर्दा सकारात्मक हुँदैन। तर त्यसको अलि प्रस्टीकरणको आवश्यकता पर्छ ।’

जलवायु परिवर्तनको विषयमा प्रधानमन्त्रीले उठाएको विषय सकारात्मक रहेको बताए। प्रवक्ता चालिसेले थपे, ‘जलवायुको विषयमा नेपालको कुनै दोष छैन । अरूकै दोष नेपालले व्यहोर्नुपरेको छ। जलवायुमा आएको परिवर्तनको कारण, कार्बन उत्सर्जन त नेपालको भन्दा बाहिरको कारणले नेपालले त्यस्तो नोक्सानी व्यहोरेको छ । नोक्सानी नेपालले क्षतिपूर्ति पाउनुपर्ने कुराहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने विषय हो ।’

मानवीय सहयोगको हिसाबमा गरिब र कमजोर राष्ट्रले सहयोग पाउनुपर्ने कुरा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाएको बताए।

उनले थपे, ‘अरू धेरै विषयहरू कांग्रेसले दिएको सुझावको अनुकूल नै छन्। तर तथ्याङ्कमा अलिकति परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले प्रस्तुत गरेका आँकडाका तथ्याङ्कमा एकरूपता आएको भए झन् राम्रो हुन्थ्यो। अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा संवेदनशीलतालाई ख्याल गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *