सर्लाही । लामो समयदेखि प्रेम सम्बन्धको चर्चामा रहेका भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा सँगै देखिएका छन् ।
एकसाथ देखिएपछि उनीहरूका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने उनीहरूको प्रेमको चर्चा थप चुलिएको छ । विजय र रश्मिकाले आफ्नो सम्बन्ध आधिकारिक रूपमा स्वीकार नगरे पनि उनीहरूको प्रेमको चर्चाले सधैं मिडियामा स्थान पाउने गरेको छ ।
हालै, विजय र रश्मिका न्युयोर्कमा आयोजित ४३ औं इण्डिया डे परेडमा ‘ग्रान्ड मार्शल’ को रूपमा सहभागी भएका थिए । अगस्ट १७ मा न्युयोर्कको म्यानह्याटनस्थित मेडिसन एभिन्युमा भएको परेडमा उनीहरुले अन्य विशिष्ट व्यक्तिहरूसँगै नेतृत्व गरेका थिए । भारतीय स्वतन्त्रता दिवसको अवसरमा न्युयोर्क सहरमा हरेक वर्ष यो कार्यक्रम मनाइन्छ। यो परेड भारतबाहिर हुने सबभन्दा ठूलो भारतीय परेडहरूमध्ये एक मानिन्छ ।
कार्यक्रमका क्रममा खिचिएका उनीहरूका केही तस्वीरहरू अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्, जसमा उनीहरूको केमेस्ट्री स्पष्ट देख्न सकिन्छ । यी तस्वीरहरूमा विजय र रश्मिका एकअर्कालाई हेरेर मुस्कुराएका देखिन्छन्, जसले यी दुईका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ ।
यो चर्चित जोडीलाई लामो समयपछि एकसाथ सार्वजनिक कार्यक्रममा देखिएको हो । कार्यक्रमका तस्वीरहरू सञ्जालमा सार्वजनिक भएलगत्तै भाइरल भएका थिए ।
विजय र रश्मिकाले ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता हिट फिल्ममा सँगै काम गरेका छन् । दर्शकले उनीहरूको जोडीलाई निकै रूचाएका छन् । लामो समयपछि आफ्नो मनपर्ने जोडीलाई सँगै देखेपछि फ्यानहरूले पनि यतिबेला सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।