सर्लाही, १२ असोज । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रूपमा बग्न थालेको छ ।
नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए ।
‘विपत्को समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ’, उनले भने, ‘स्थानीय सरकारले उपलब्ध सीमित स्रोतसाधन परिचालन गरी अधिकतम काम गरिरहेको छ । यति बेला प्रदेश र संघ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ ।’
उनका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज बिहानै आ–आफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मर्स्याङ्दी नदीको पानीका बहाम क्रमश खुल्दै गएको बताए । त्यस क्षेत्रमा सडक सम्पर्कविच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए । बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ । उक्त बस्ती प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘मर्स्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ ।’
निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टेखोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ । १४ जेठ र १ असार २०७८ मा घट्टेखोला, ठाडोखोला र मर्स्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।
