सर्लाही, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदिश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न गरेको प्रस्तावको जवाफ आफूले अझै नपाएको बताएका छन् ।

मंगलबार संसदमा बोल्दै उनले सदनबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न आग्रह गरेको स्मरण गरेका हुन् । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ होइन, ‘प्रधानमन्त्री विपद् राहत कोष’ भनेर त्यो कोषको नामाकरण गरियोस् भनेर मैले यही सदनबाट आग्रह गरेको थिएँ । त्यसको जवाफको पर्खाइमा म रहेको छु,’ उनले भने ।

उनले विपद्लाई दैवी प्रकोपका रूपमा नभई प्राकृतिक वा मानव सिर्जित घटनाका रूपमा बुझ्नुपर्ने बताए । ‘हामीले पटक-पटक भनेका छौं-विपद् दैवी प्रकोप होइन, यो दैवले गराएको होइन। यो प्राकृतिक या मानव सिर्जित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौं,’ उनले भने ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । ‘अब हामीले एउटा सहसचिवस्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन । अब संसदको विशेष समिति पनि बन्दैछ। यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि-अधिकारसम्पन्न प्राधिकरण बनाऔं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *