यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

Byसदाम हुसैन

२०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार

सर्लाही, १३ असाेज । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केवर-पथलैया सडक खण्ड निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

आजको बैठकले पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरको प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

उनको अनुसार मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय सदन समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आजकै बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा, र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *