सर्लाही, १४ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ ।
सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संघीय संसद्को अर्थ समितिको बुधबारको बैठकमा नेप्सेको कार्यक्षमता र सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी यस्तो प्रक्रिया अघि बढाउने बताए ।
भट्टले पुँजी बजारको विद्यमान संरचना र पछिल्ला दिनमा नेप्सेमा देखिएका साइबर सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिएको बताए ।
“नेप्सेको कार्यक्षमता तथा सुशासन सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचना प्रक्रिया अघि बढाउने छौँ,” भट्टले भने, “स्वामित्व र संरचनागत परिवर्तनका विषय सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि नियामक निकायका रूपमा बोर्डले गर्नुपर्ने काममा दृढ छौँ ।”
अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम अघिल्लो सरकारको पालामा गठित रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी पनि सुरु भएको उनले जानकारी दिए ।
अध्यक्ष भट्टकाअनुसार, अर्थ मन्त्रालयले पूर्ववर्ति समितिको प्रतिवेदन कार्यान्वयनका लागि बोर्डलाई पत्र पठाइसकेकाले सेबोनले नेप्सेसँग छलफल गरेर आफ्नो क्षेत्राधिकारभित्रका सुधार अघि बढाउनेछ । विशेष गरी नेप्सेको साइबर सुरक्षा, आईटी प्रणाली, सुशासन र संस्थागत क्षमता सुधारलाई प्राथमिकता दिइएको उनले जनाए ।
यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । सीडीएससीलाई ‘सेन्ट्रल काउन्टर पार्टी’का रूपमा विकसित गर्ने योजना रहेको र यसले सेयर खरिद–बिक्रीमा थप सुरक्षा तथा ग्यारेन्टी प्रदान गर्ने भट्टले बताए ।
पुँजी बजारको दायरा फराकिलो बनाउन आगामी दिनमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्स जस्ता नयाँ वित्तीय उपकरणहरू भित्र्याउन आवश्यक पूर्वाधार विकास र गृहकार्य भइरहेको उनले बताए ।
