सर्लाही, २५ असाेज । नेपाल–भारत सीमास्थित मलंगवा-सोनवर्षा नाका (हनुमान चोक) जलमग्न हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।
जिल्लाको मुख्य नाकामा अत्यधिक पानी जम्दा नेपाल र भारतबिच ओहोरदोहोर गर्ने नागरिक समस्यामा परेका हुन् ।
वर्षा भएका दिन नाकामा कम्मरसम्म पानी जम्ने भएकाले मलंगवाबाट सोनवर्षा तथा सोनवर्षाबाट मलंगवा आउजाउ गर्न कठिन हुने गरेको नागरिक समाज सर्लाहीका महासचिव एवं मलङ्गवा नगरपालिका-८ का स्थानीय बासिन्दा शिवशङ्कर चौधरीले बताउनुभयो ।
मुख्य नाकाको दुरवस्थाबारे प्रमुख जिल्ला अधिकारी तथा भारततर्फका सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कम्तीमा ढलान मात्र गरिदिने हो भने यस्तो बिजोग हुने थिएन । पानीमा डुब्दै आउजाउ गर्नुपर्ने बाध्यता हट्ने थियो ।”
खेततर्फबाट पानी बगेर आउने र वर्षाको पानी निरन्तर जमिरहँदा त्यहाँ गहिरो खाल्डो बनेकाले समस्या बढेको चौधरीले बताउनुभयो । सीमापारि जाँदा वा फर्किंदा जलमग्न ठाउँमा कहाँ खुट्टा पर्ने हो र कतिखेर लडिने हो भन्ने डर हुने गरेको उहाँको भनाइ छ ।
मलंगवा-सोनवर्षा नाका भएर दैनिक सयौँ मानिस तथा सवारीसाधन ओहोरदोहोर गर्छन् । नाकामा दुईदेखि तीन फिटसम्म पानी जम्दा यात्रुहरू भिज्दै र हिलाम्मे हुँदै दशगजा पार गर्न बाध्य छन् ।
स्थानीयवासीका अनुसार उक्त स्थानमा कल्भर्ट वा पुल निर्माण गर्न सके नेपाल र भारत दुवैतर्फका नागरिकलाई राहत पुग्नेछ । दशगजामा पोखरीजस्तै गहिरो खाल्डोमा पानी जम्दा साइकल, मोटरसाइकल तथा मालवाहक सवारीसाधनको आवागमनमा समेत कठिनाइ भइरहेको छ ।
मलंगवा नगरपालिका-८ का वडाध्यक्ष मुकेशकुमार जयसवालका अनुसार दशगजामा यस वर्ष मात्र पानी जम्ने समस्या देखिएको हो ।
उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरूमा पानी परेको दुई–चार घण्टामै पानी बगेर जाने वा सुक्ने गर्थ्यो । तर, यस वर्ष खोलाको बाढी पसेर यहीँबाट पानी बगिरहेकाले समस्या बढेको हो ।”
जलमग्न क्षेत्र दशगजामै पर्ने भएकाले भारतीय पक्षको सहमतिबिना कुनै संरचना निर्माण गर्न नसकिने वडाध्यक्ष जयसवालले बताउनुभयो ।
यसअघि भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सँग समन्वय गरेर पानी जम्न नदिन स्काभेटर प्रयोग गर्ने गरिएको भए पनि यस वर्ष निरन्तर पानी बगेर गहिरो खाल्डो बनेकाले पुल निर्माण गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले दशगजामा पानी जम्ने समस्याबारे एसएसबीसँग सकारात्मक छलफल भए पनि समाधानका लागि माथिल्लो निकायमा समेत समन्वय गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुख्य नाकामै पानी जमेर आवागमन प्रभावित भएको विषयमा एसएसबीसँग कुरा भएको छ । तर, यसबारे माथिल्लो निकायमा समेत संवाद गर्नुपर्ने देखिन्छ ।”
