काठमाडौं, २८ असाेज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा) लाई बलियो बनाउन र सन् २०२९ को लोकसभा चुनावको तयारीमा जुट्न यस्तो निर्णय लिएको बताएका छन् ।

सूचना तथा प्रसारण र संसदीय मामिला मन्त्रालयमा राज्यमन्त्री रहेका मुरुगनले मंगलबार प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै आफूलाई मन्त्री पदको जिम्मेवारीबाट मुक्त गर्न र राज्यसभा सदस्यता त्याग्न अनुमति दिन आग्रह गरेका हुन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले तमिलनाडु फर्केर पार्टी संगठन विस्तारमा काम गर्न चाहेको बताए । मोदीको हालैको तमिलनाडु भ्रमणका क्रममा जनताले देखाएको उत्साह, माया र समर्थनले आफूलाई राज्यमा थप सक्रिय भएर काम गर्न प्रेरित गरेको उनको भनाइ छ ।

मुरुगनले सन् २०२९ को लोकसभा चुनावअघि गाउँ तहसम्म पार्टीको संगठन बलियो बनाउने र कार्यकर्तासँगै रहेर काम गर्ने आफ्नो योजना प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। उनले पार्टी र प्रधानमन्त्रीको नेतृत्वबाट आफूले धेरै अवसर पाएको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् ।

दैनिक ज्यालादारी गर्ने मजदुरको छोराबाट केन्द्रीय मन्त्रिपरिषद्मा पुग्नुलाई उनले आफ्नो जीवनको ठुलो अवसरका रूपमा व्याख्या गरेका छन् । अब तल्लो तहमा फर्केर कार्यकर्तासँगै पार्टीको संगठन विस्तारमा पूर्णकालीन रूपमा खटिने उनको भनाइ छ ।

मुरुगनले राष्ट्रिय अनुसूचित जाति आयोगको उपाध्यक्षका रूपमा काम गर्नुका साथै दुई पटक राज्यसभा सदस्य बनेका छन् । उनले पाँच वर्षसम्म केन्द्रीय मन्त्रिपरिषद्मा पनि सेवा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *