सर्लाही, ०२ कार्तिक । यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन अर्थात् आज (कात्तिक २ गते सोमबार) पनि महाअष्टमीकै कर्म दोहोर्याइने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेकाले पूजा कोठा तथा दसैँ घरहरूमा आठौँ दिनकै विधिअनुसार पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार पात्रोमा दुई दिन अष्टमी उल्लेख गरिएकाले हिजो गरिएको महाअष्टमीको कर्म आज पनि निरन्तर गर्नुपर्छ ।
आज नवरात्रको नवौँ दिन भए पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने र महाअष्टमीकै अन्य धार्मिक कर्महरू दोहोर्याउनुपर्ने उनले जानकारी दिए ।
यसरी तिथि बढ्दा यसपालिको नवरात्र १० दिन (दशरात्र) को बनेको छ भने देवीको साधना तथा आराधनामा एक दिन थपिँदा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ ।
यसैबीच, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा सामान्यतया हिजै (कात्तिक १ गते) गर्नुपर्ने भए पनि राज्यका तर्फबाट हनुमानढोका दरबारमा भने आज सोमबार राति मात्रै कालरात्रि पूजा गरिने भएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको भोलिपल्ट नै महानवमीको कर्म गर्ने पुरानो परम्परा रहेकाले समितिसँगको परामर्श र तलेजुका पुजारीको निर्णयअनुसार आज राति पूजा गर्न लागिएको हो ।
हनुमानढोकाको दसैँ घरमा हिजो आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ भने आज मूल पूजा आयोजना गरिनेछ ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष कालरात्रि पूजा, आराधना तथा तान्त्रिक अनुष्ठान गर्ने प्राचीन परम्परा रहिआएको छ ।
