सर्लाही, ०३ कार्तिक । नेपाल राष्ट्र बैंकले दसैँको समयम डिजिटल माध्यमबाट हुनसक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ ।
बैंकहरू बन्द हुने मौका छोपेर डिजिटल ठगहरू सक्रिय हुने र सानो असावधानीले बैंक खाता नै रित्तिन सक्ने भन्दै राष्ट्र बैंकले आफ्नो मिहिनेतको कमाइलाई सुरक्षित राख्न आग्रह गरेको हो ।
दसैँ अफर, उपहार वा बोनसको प्रलोभन देखाएर पठाइएका अपरिचित लिङ्कहरू नखोल्न आग्रह गर्दै केन्द्रीय बैंकले आफ्नो ओटिपी, युजरनेम, पासवर्ड वा पिन कोड कसैलाई नदिन भनेको छ ।
मोबाइल बैंकिङ वा बैंक खाता ब्लक भएको भन्दै आउने फोन तथा मेसेजलाई बेवास्ता गर्न समेत आग्रह गरिएको छ ।
अरुको क्यूआर कोड स्क्यान गरेर पिन नहाल्न अनुरोध गर्दै राष्ट्र बैंकले भनेको छ, ‘क्यूआर कोड स्क्यान गर्ने भनेको पैसा तिर्नका लागि मात्र हो, पैसा प्राप्त गर्नका लागि होइन । कसैले पैसा दिन्छु भन्दैमा क्यूआर कोड स्क्यान गरेर पिन नहाल्नुहोस् ।’
डिजिटल ठगीमा परे वा शङ्कास्पद गतिविधि भेटेमा तुरुन्तै आफ्नो बैंकको ग्राहक सेवा सम्पर्क नम्बर वा नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न राष्ट्र बैंकले सबैको ध्यानाकर्षण गराएको छ ।
