सर्लाही, ०९ कार्तिक । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्ने गरी सरकारले ८ शहरमा रंगशाला निर्माणको काम अघि बढाइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएललाई शुभकामना दिँदै कम्तीमा ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको बताएका हुन् ।
फ्लडलाइट सुविधासहितको रंगशाला तीन वर्षभित्रै पूरा गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालको भनाइ छ ।
‘चार्डपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ ।’
देशका विभिन्न भागमा एनपीएल विस्तार र विकासमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको उनले बताएका छन्। उनले सरकारको लक्ष्यअनुसार काम गर्न नेपाल क्रिकेट संघ क्यानलाई आग्रह पनि गरेका छन्।
‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ,’ उनले थप भनेका छन्, ‘क्रिकेट संघ (क्यान)ले पनि सोही अनुरूप आवश्यक तयारी अघि बढाओस् । एनपीएलको सफल आयोजनाका लागि हार्दिक शुभकामना ।’
