सर्लाही, ०९ कार्तिक । लगातार ९ दिन सार्वजनिक बिदापछि आज सोमबारबाट सरकारी कार्यालय, बैंक तथा अन्य सार्वजनिक सरोकारका कार्यालयहरू खुलेका छन् । तर बिदाको चक्र सकिएको छैन ।
आजबाट पाँच दिन सरकारी कार्यालय र बैंकहरू खुलेपछि दुई दिन बिदा हुन्छ । फेरि पाँच दिन कार्यालय खुलेपछि ६ दिन बिदा हुन्छ ।
त्यसपछि एक दिन कार्यालय खुल्छ, दुई दिन बिदा हुन्छ । अनि एक दिन कार्यालय खुलेपछि कात्तिक महिना नै सकिन्छ ।
अर्थात्, २९ दिनको कात्तिक महिनामा १२ दिन मात्रै कार्यालय खुल्छन् । १७ दिन कार्यालय बन्द रहने छन् ।
दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक जुध्दा कार्यालय तथा सार्वजनिक सेवा प्रवाह यसरी प्रभावित भएको हो ।
२०८१ मा दसैंअघि लगातार सार्वजनिक बिदा ५ दिन परेको थियो भने २०८२ मा यस्तो अवधि ६ दिन पुगेको थियो । यसपटक लगातार ९ दिन बिदा परेको हो । यस अवधिमा चार दिन साप्ताहिक बिदा र पाँच दिन पर्व बिदा परेका छन् ।
प्रधान बालेन शाह नेतृत्वको सरकार आएको १० दिनपछि, २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि वर्षभरि कार्यालय खुल्ने दिन घटेका छन् ।
त्यति बेला पेट्रोल खपत घटाउन दुई दिन बिदा गरिएको भए पनि सरकारले यसलाई पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट गरेको छ ।
यस अनुसार अघिल्लो वर्षको तुलनामा एक वर्षमा करिब ४० दिन बिदा थपिएको हिसाब देखिन्छ। नयाँ साप्ताहिक बिदा लागू गर्दा पर्व तथा दिवसका बिदा कटौती नगरिएकाले बिदा एकैठाउँ खप्टिने र कार्यालय खुल्ने दिन कम हुने अवस्था बनेको छ ।
कात्तिक महिनामा मात्रै २९ दिनमध्ये १२ दिन कार्यालय खुल्दा काममा निकै प्रभाव परेको व्यवसायीहरू बताउँछन्।
दसैं, तिहार लगायत पर्वका बिदा र शनिबार–आइतबारको नियमित बिदा जोडिँदा कार्यालय तथा बैंकिङ सेवा सीमित हुने अवस्था आएको हो । सरकारी कार्यालय र बैंक नखुल्दा निजी क्षेत्रको दैनिक कारोबार समेत प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
उद्योगी पशुपति मुरारका अत्यधिक बिदाले काम गर्न अप्ठ्यारो भएको बताउँछन् ।
