सर्लाही, ०९ कार्तिक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास र युवा खेलाडीको भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन् ।

सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मन्त्री गौतमले प्रतियोगितामा जुनसुकै टोली विजयी भए पनि त्यसलाई समग्र नेपाली क्रिकेटको उपलब्धिका रूपमा लिनुपर्ने बताएकी हुन् ।

‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई हार्दिक शुभकामना  मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ,’ उनले उल्लेख गरेकी छन् ।

मन्त्री गौतमले सरकारले निजी क्षेत्रका लागि उपयुक्त वातावरण निर्माण गरिदिए खेलकुद क्षेत्रको सम्भावनालाई आर्थिक तथा व्यावसायिक अवसरमा रूपान्तरण गर्न सकिने बताएकी छन् ।

एनपीएलले निजी क्षेत्रको सहभागितामार्फत खेलकुदलाई राष्ट्रिय उत्सवका रूपमा विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ ।

सरकारको सहजीकरण र निजी क्षेत्रको सक्रियताबीचको सहकार्यले सम्भावनालाई उद्योग, प्रतिभालाई अवसर र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्ने धारणा उनले व्यक्त गरेकी छन् ।

उनले एनपीएललाई देशका विभिन्न क्षेत्रका प्रतिभावान् खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा चित्रण गरेकी छन् ।

‘नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ,’ मन्त्री गौतमले भनेकी छन् ।

एनपीएलको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले थप उचाइ हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रतियोगितामा सहभागी सबै टोली, खेलाडी, आयोजक तथा सम्बद्ध पक्षलाई सफलताको शुभकामना दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *