सर्लाही, १९ कार्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्याइने भएको छ ।
शैक्षिक प्रमाणपत्र विद्यार्थीको ठेगानामा र कार्यालयीय कागजात सम्बन्धित कार्यालयमा पुर्याउन त्रिवि र हुलाक सेवा विभागबिच सम्झौता भएको छ ।
यसबाट प्रमाणपत्र लिन विश्वविद्यालयका कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने र विद्यार्थीको समय बचत हुने अपेक्षा गरिएको छ ।
सम्झौतामा त्रिविका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सम्बन्धित विद्यार्थीसम्म पुर्याउने व्यवस्था गरिएको उल्लेख छ ।
अहिले त्रिविबाट जारी हुने शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी ७७ जिल्लाबाटै काठमाडौं आउनुपर्ने बाध्यता छ । यो बाध्यता अन्त्य गर्न र विद्यार्थीको समय बचत गर्न त्रिविले हुलाक सेवा विभागसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र विद्यार्थीले उपलब्ध गराएको ठेगानामा पुर्याउन लागिएको रजिष्ट्रार रवीन्द्र शिवाकोटीले बताए ।
विशेषगरी काठमाडौंबाहिरका विद्यार्थीको ठेगानामा प्रमाणपत्र पुर्याउने लक्ष्यसहित हुलाक सेवा विभागसँग सहकार्य गरेको शिवाकोटीको भनाइ छ ।
‘यस व्यवस्थाले विशेषगरी काठमाडौं उपत्यकाबाहिर बस्ने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ,’ शिवाकोटीले भने, ‘प्रमाणपत्र लिन विश्वविद्यालयसम्म आउनुपर्दा लाग्ने यातायात खर्च, समय र अन्य झन्झट कम हुनेछ। साथै रोजगारी, अध्ययन वा अन्य कामका कारण टाढा रहेका विद्यार्थीलाई समेत सेवा प्राप्त गर्न सहज हुनेछ ।’
सम्झौताअनुसार शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजातको ढुवानी र वितरणलाई सुरक्षित, व्यवस्थित तथा पारदर्शी बनाउन पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिआइटिएस) प्रयोग गरिनेछ । हुलाकबाट पठाइने कागजात ट्र्याकिङ बारकोडसहित प्रणालीमा दर्ता गरिने व्यवस्था गरिएको छ ।
यस प्रणालीबाट कार्यालयीय कागजात वा शैक्षिक प्रमाणपत्र कहाँसम्म पुगेको छ र सम्बन्धित व्यक्ति वा कार्यालयले पाए नपाएको भन्ने अनुगमन गर्न सहज हुनेछ ।
रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका प्रशासनिक सेवालाई हुलाक प्रणालीसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्याउने लामो समयदेखिको योजना कार्यान्वयनमा आएको बताए ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यबिचको भरपर्दो सम्पर्क माध्यम भएको उल्लेख गर्दै विश्वविद्यालयका कागजात र प्रमाणपत्र सम्बन्धित कार्यालय र व्यक्तिसम्म पुर्याउने जिम्मेवारी हुलाकले पाएको बताइन् ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यले हुलाक सेवालाई सरकारी कागजात तथा सामग्री ढुवानी गर्ने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ ।
सरकारले हुलाक सेवामार्फत राहदानी, सवारीचालक अनुमतिपत्र, विभिन्न सरकारी कागजात ढुवानी र वितरण गर्ने काम अघि बढाएको छ ।
हुलाक सेवा विभागका अनुसार यसअघि शैक्षिक प्रमाणपत्र वितरणमा हुलाक सेवा प्रयोग भएको थियो। त्रिविसँग अहिले भएको सम्झौताले विश्वविद्यालयका प्रमाणपत्र पनि हुलाकमार्फत सम्बन्धित ठेगाानामा पुर्याइने छ ।
नयाँ व्यवस्था प्रभावकारी बनाउन विद्यार्थीको सही ठेगाना र सम्पर्क नम्बर उपलब्ध हुनुपर्ने छ । सम्झौताको प्रभावकारी कार्यान्वयनसँगै विश्वविद्यालयको सेवा प्रवाह थप सहज, छरितो र विद्यार्थीमैत्री हुने विश्वास गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि रजिस्ट्रार कार्यालयमा रजिस्ट्रार शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक भट्टराई पंगेनीले मंगलबार २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
