सर्लाही, २४ कार्तिक । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको पर्वतीय क्षेत्र र पृथ्वीको तापक्रम वृद्धिसँगै त्यसले हिमाली क्षेत्रमा पार्ने प्रभावसम्बन्धी विषयमा सम्मेलनमा व्यापक छलफल गर्ने बाटो खोलेको छ ।
३१औँ सम्मेलनमा अबका दुई वर्षसम्म जलवायु परिवर्तन र पर्वतीय क्षेत्रसम्बन्धी संवाद आयोजना गर्ने विषयमा सहमति भएको हो ।
नेपालले अघि सारेको जलवायु परिवर्तन र पर्वतीय क्षेत्रसम्बन्धी एजेन्डा कोपको एजेण्डामा भने प्रवेश पाएन । तर निरन्तरको पैरवी, वार्ता र छलफलबाट थप उपलब्धि हासिल गर्न सक्ने सम्भावना भने यथावत् नै छ ।
टर्कीएको आन्ताल्यामा रहेका जलवायु तथा वातावरण विज्ञ मञ्जित ढकालले कोप–३१ को पहिलो दिनको उद्घाटन सत्रमा नेपालको प्रस्तावलाई महत्त्व दिँदै त्यससम्बन्धी छलफल आयोजना गर्ने सहमति भएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार नेपालले प्रस्ताव गरेको एजेन्डामाथि सम्मेलनको अध्यक्षताले परामर्श गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
हिजो उद्घाटन सत्र सकिएको छ । अतिकम विकसित राष्ट्रहरूको समूहका अध्यक्षको प्रमुख सल्लाहकार समेत रहेका ढकालका अनुसार पर्वतीय क्षेत्रको विषय अबका वर्ष आयोजना हुने अनुसन्धान संवादमा समेत समेटिने भएको छ ।
नेपालले विगतका जलवायु सम्मेलनहरूमा पनि पर्वतीय क्षेत्र, हिमालको तापक्रम वृद्धि र जलवायुजन्य जोखिमका विषय उठाउँदै आएको छ ।
तर, सम्मेलनको प्रारम्भिक छलफलमा महत्त्व पाएका विषयलाई अन्तिम निर्णय र निष्कर्षसम्म पुर्याउन नेपालले अपेक्षित सफलता हासिल गर्न नसकेको अनुभव छ । यस पटक उद्घाटन सत्रमै नेपालको प्रस्तावले प्राथमिकता पाउनुलाई सकारात्मक रूपमा लिन सकिने ढकालको भनाइ छ ।
