मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना

Byसदाम हुसैन

२०८३ कार्तिक २५, बुधवार २०८३ कार्तिक २५, बुधवार २०८३ कार्तिक २५, बुधवार

सर्लाही, २५ कार्तिक । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ । 

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ । तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशी (धनतेरस) बाट सुरु भएको यस वर्षको दीपावली ५ दिनको साटो ६ दिनसम्म लम्बिएको छ ।

मधेस प्रदेशको महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका दिदीबहिनी आज दाजुभाइको पूजनमा व्यस्त छन् । मिथिला परम्परामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भ्रातृद्वितीया पनि भनिन्छ । 

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पूजा गर्ने चलन छ भने अविवाहितहरूले स्वनिवासमै यो पर्व मनाउँछन् ।

यस्तो छ पूजा र ‘बजरी खुवाउने’ विधि 

पहाडी समुदायमा मनाइने भाइटीका र मैथिल समुदायको भैयादुजको पौराणिक कथावस्तु एउटै भए पनि पूजा विधि भने केही फरक छ ।

भैयादुजमा दिदीबहिनीले घरमा ‘पिठार’ (पानीमा घोलिएको अरवा चामलको पिठो) ले ‘अरिपन’ अर्थात् चतुर्भुज आकारको घेरा बनाउँछन् । उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखी तातोपानीले गोडा धुने परम्परा छ । 

त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी दिएर सप्तरङ्गी टीका लगाइदिइन्छ र गङ्गा-यमुनाको जस्तै वेग तथा कीर्ति कायम रहोस् भन्दै गीत गाइन्छ ।

यस क्रममा दाजुभाइलाई सुकेको कडा केराउ चपाउन दिइन्छ, जसलाई ‘बजरी खुवाउने’ भनिन्छ । जलेश्वर नगरपालिका–५ पर्साकी सामाजिक अगुवा अनिता शर्माका अनुसार कडा केराउको दानालाई वज्रसँग तुलना गर्दै दाजुभाइको शरीर वज्रझैँ बलियो र कठोर होस् भन्ने कामनासहित यो विधि गरिन्छ ।

मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक तथा मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाका अनुसार सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्य र दीर्घायुको कामना गर्दै टीका लगाइदिएको पौराणिक कथासँग यो पर्व जोडिएको छ । 

पूजा विधि पूरा भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिने र दिदीबहिनीले मिष्ठान्न भोजन गराउने चलन छ ।

भ्रातृत्व र सद्भावका अन्य पर्व 

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने भैयादुज जस्तै अन्य पर्वहरू पनि छन् । साउन पूर्णिमामा मनाइने ‘राखी पर्व’ र कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने ‘सामाचकेवा’ पर्वले पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम, पारिवारिक सद्भाव, समर्पण र त्यागलाई प्रतिविम्बित गर्ने मैथिल अगुवाहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *