विश्वकै तीव्र गतिको ऐतिहासिक जहाज एसएस युनाइटेड स्टेट्स डुबाइँदैे

Byसदाम हुसैन

२०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार २०८३ कार्तिक २६, बिहीवार

सर्लाही, २६ कार्तिक । कुनै समय विश्वकै तीव्र गतिको मानिएको र ‘टाइटानिक’ भन्दा पनि लामो पानीजहाज ‘एसएस युनाइटेड स्टेट्स’ लाई अमेरिकाको फ्लोरिडा तट नजिकै समुद्रमा डुबाइने भएको छ । 

यसलाई विश्वकै सबैभन्दा ठूलो कृत्रिम समुद्री चट्टानमा रूपान्तरण गरिनेछ ।

करिब ३० वर्षसम्म फिलाडेल्फियाको बन्दरगाहमा थन्किएको यो जहाजलाई हालै फ्लोरिडा सारिएको हो । अब यो जहाज समुद्री जीवजन्तुको बासस्थान र समुद्री पारखीहरूका लागि पानीमुनिको आकर्षणको केन्द्र बन्नेछ । 

सयौँ पटक आन्ध्र महासागर पार गरेको यस ऐतिहासिक जहाजलाई सङ्ग्रहालयका रूपमा जोगाइराख्न अभियन्ताहरूले निकै प्रयास गरेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन ।

फ्लोरिडाको एक काउन्टीले यो जहाज खरिद गरेसँगै अब यसलाई तटीय क्षेत्रका दर्जनौँ कृत्रिम चट्टानहरूको सूचीमा थपिनेछ । साथै, जहाजको इतिहास झल्काउने गरी जमिनमा छुट्टै सङ्ग्रहालय बनाउने योजना पनि अघि सारिएको छ ।

सन् १९५२ देखि १९६९ सम्म सञ्चालनमा रहँदा ‘एसएस युनाइटेड स्टेट्स’ अमेरिका र युरोपबिच राजपरिवार तथा चर्चित सेलिब्रेटीहरूलाई ओसारपसार गर्न प्रख्यात थियो ।

राष्ट्रपति बन्नुअघि युवा अवस्थाका बिल क्लिन्टनले यही जहाजबाट आन्ध्र महासागर पार गरेका थिए । यसका साथै पूर्वराष्ट्रपतिहरू ह्यारी ट्रुम्यान, ड्वाइट आइजनहावर र जोन केनेडीले पनि यसमा यात्रा गरेका थिए ।

आफ्नो सक्रिय सेवाकालमा मार्लन ब्रान्डो, कोको च्यानल, ड्युक एलिंगटन, साल्भाडोर डाली, वाल्ट डिज्नी, जुडी गारल्यान्ड र क्यारी ग्रान्ट जस्ता हस्तीहरूले पनि यस जहाजको यात्रा गरेका थिए ।

सरसफाइ र मर्मतसम्भारका लागि यो जहाजलाई गत वर्ष फिलाडेल्फियाबाट अलाबामा लगिएको थियो । सोमबार अलाबामाबाट फ्लोरिडाको डेस्टिन तटतर्फ आफ्नो अन्तिम यात्रा तय गरेको यस जहाजलाई विस्फोटक पदार्थको प्रयोग नगरीकन अत्यन्तै सूक्ष्म र सटिक प्रविधि अपनाएर डुबाइनेछ ।

फ्लोरिडाको स्थानीय सरकारले खरिद गर्नुअघि यसलाई सङ्ग्रहालय वा तैरने होटलका रूपमा दोस्रो जीवन दिने थुप्रै प्रस्तावहरू असफल भएका थिए ।

कानुनी लडाइँहरूका कारण विभिन्न मालिकहरूको स्वामित्वमा रहँदै यो प्रसिद्ध जहाज विभिन्न बन्दरगाहमा थन्किएर बसेको थियो । ‘एसएस युनाइटेड स्टेट्स कन्जर्भेन्सी’ समूहले जहाजलाई पानीमाथि नै जोगाइराख्न पटक-पटक प्रयास गरे पनि सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *