सर्लाही ,२६ कार्तिक । भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना महत्त्वपूर्ण एजेन्डा बन्न सक्ने देखिएको छ ।
भारत र नेपालको साझा जलस्रोत उपयोगसँग जोडिएको आयोजना लागत, जलस्रोतको बाँडफाँट तथा लाभ वितरणसम्बन्धी विवादका कारण अघि बढ्न सकेको छैन ।
यसअघि दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने सहमति गरेका थिए ।
पञ्चेश्वर आयोजना अघि बढे शारदा (महाकाली) नदी क्षेत्रको विद्युत् उत्पादन, सिँचाइ तथा बाढी नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी विषय र तराई क्षेत्रमा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल हुने मन्त्री सतपालले बताएका छन् ।
‘नेपालका प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा आउँदै हुनुहुन्छ । सम्भवतः नोभेम्बर २२ मा उहाँको भारत भ्रमण हुनेछ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग पञ्चेश्वर बाँध परियोजनाबारे छलफल गरिनेछ,’ मन्त्री सतपालले भनेका छन्, ‘यसका साथै नेपाल–भारत सीमामा देखिएका समस्याहरू र प्रस्तावित ड्राई पोर्टका विषयमा पनि छलफल हुनेछ ।’
