काठमाडौं, ०५ भदाै । अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ ।
बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा दोषी पाइएका हुन् ।
यी आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी जलसेनाका जहाजहरू सम्बन्धी गोप्य तथ्याङ्क गैरकानुनी रूपमा साझेदारी गर्ने कार्य लगायत छन् ।
जिनचाओ वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत आफ्नो जालमा पारेको आरोप छ ।
अमेरिकी अटर्नी एडम गोर्डनले ती जलसेना सदस्य दोषी ठहरिएको निर्णय सुनाउँदै भने, ‘उसले अमेरिकी सेनाको सदस्यका रूपमा उसमाथि देखाइएको विश्वाससँग गम्भीर विश्वासघात गरेको छ ।’
उनले थपे, ‘पैसाका लागि सैन्य जानकारी चीनलाई बेचेर उसले केवल आफ्ना सहकर्मीहरूको जीवनलाई मात्र होइन, पूरै देश र हाम्रो सहयोगीहरूको सुरक्षासमेत जोखिममा पारेको छ ।’